काठमाडौं, ८ भदौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।
उक्त पत्रकार सम्मेलनमा नरेन्द्र मोदीले दुइ चरणमा स्थानिय तहको निर्वाचन गरेकोमा नेपाललाई बधाई दिएका छन् । पत्रकार सम्मेलनमा मोदी नेपाली भाषामा पनि बोलेका छन् । मोदी र देउवाबीच दुई पक्षीय वार्ता सकिएपछि पत्रकार सम्मेलन भएको थियो ।
आठवटा समझदारी पत्रमा हस्ताक्षर
यसैगरी नेपाल र भारतबीच विभिन्न आठवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशबीच भूकम्पपछिको पुनर्निर्माण लगायतका आठवटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
चार वटा समझदारी पुनर्निर्माणसँग सम्बन्धित छ । नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५ करोड अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्र क्रमशः पाँच, पाँच करोड अमेरिकी डलर र भूकम्पपीडितका घर निर्माणका लागि १० करोड अमेरिकी डलर खर्च हुनेछ ।
यसैगरी, गुणस्तर तथा नापतौलसम्बन्धी, एसियाली विकास बैंकको सहयोगमा सञ्चालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रम अन्तर्गत मेची पुल निर्माण र लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा समेत समझदारी भएको छ ।
दुई मुलुकका गुणस्तर तथा नापतौल निकायबीच हुने समझदारीले नेपालले गुणस्तर चिह्न दिएका वस्तुलाई भारतले मान्यता दिने र भारतले गुणस्तर चिह्न दिएका वस्तुलाई नेपालले मान्यता दिने परिपाटी निर्माण हुने अपेक्षा छ ।
समझदारीबाट दुई देश जोड्ने मेची पुलको विस्तार र स्तरोन्ति हुनेछ । समझदारीपत्रमा हस्ताक्षर हुनुअघि प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको थियो ।