सुर्खेत, २ असोज । एक साताअघि ज्वरोका कारण थला परे मुगुको छायाँनाथ रारा नगरपालिका ६ का कर्णसिंह ऐडी नजिकै अस्पताल नहुँदा छिमेकीले बोकेर तीन घन्टा पर सदरमुकाम गमगढी लाँदै थिए। ६० वर्षीय ऐडीको बाटोमै मृत्यु भयो।
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका—७ का पदमराज सिम्खडाले विष सेवन गरे। आफन्तले सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालतर्फ लगे। यातायातको सुविधा नहुँदा स्थानीयले दुई घण्टासम्म पैदलै बोकेर जितेबजारसम्म पुर्याए। तर अस्पताल पुग्न नपाउँदै २८ वर्षीय सिम्खडाको बाटोमै ज्यान गयो।
केही दिन अघिमात्र जाजरकोटको छेडागाड नगरपालिका १० की पञ्चकलानाथ योगीको पनि अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु भयो। ज्वरोका कारण बिरामी भएकी उनलाई आफन्तले स्टेचरमा बोकेर अस्पताल लैजाँदै थिए। दुई घण्टासम्म पैदल बोकेर थलह बजारमा पुगेपछि उनको ज्यान गयो। कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा दक्ष चिकित्सकको अभाव र भौगोलिक विकटताका कारण समयमै अस्पतालमा पुर्याउन नसक्दा वर्षेनी धेरै बिरामीको बाटोमै ज्यान जाने गरेको छ।
गाउँमा स्वास्थ्य संस्था नहुनु, दुर्गमका स्वास्थ्य संस्थामा पनि डाक्टर नै नबस्ने र बिरामीलाई सदरमुकामसम्म बोकेरै पुर्याउनुपर्ने बाध्यताका कारण कर्णाली प्रदेशमा यस्ता समस्या दाहोरिने गरेका छन्। अधिकांश बिरामीको अस्पतालसम्म पुग्न नपाउँदै बाटोमै मृत्यु हुने गरेको छ। ग्रामीण क्षेत्रबाट जिल्ला अस्पतालसम्म पुग्न दुईदेखि चार दिनसम्म लाग्ने गरेको छ। लामो बाटोका कारण धेरै बिरामीले अस्पतालको मुखै देख्न नपाएर बाटोमै ज्यान गुमाउने गरेका हुन्।
गर्भवती महिलाको पनि अस्पतालको मुख देख्नै नपाएर बाटोमै ज्यान जाने गरेको छ। जुम्लाको मालिका बोताका दलबहादुर रावतले पत्नीलाई सुत्केरी व्यथाले च्यापेपछि अस्पतालतर्फ लगे। अस्पताल पुग्न नपाउँदै उनकी पत्नी लालकलीले बाटोमै प्राण त्यागिन्। सन्तान जन्मन लागेको खुशी बोकेर हतारमा अस्पताल लैजाँदै गरेका दलबहादुरले पत्नी र गर्भमा रहको सन्तान पनि गुमाए।
अस्पतालसम्म पुग्न नपाउँदै बीच बाटोमा नै पत्नी गुमाउँदाको पीडा दलबहादुर अहिले पनि झलझली सम्झन्छन्। ‘ श्रीमतीलाई सुत्केरी व्यथाले च्याप्यो, गाउँमा अस्पताल र डाक्टर छैनन्’, आफ्नो पीडा सुनाउँदै दलबहादुरले भने, ‘गाउँका २५ जनाको टोलीले बोकेर लग्दै थियौं, अस्पताल पुग्न नपाउँदै श्रीमतीको बाटोमै प्राण गयो।’अत्याधिक रक्तस्रावका कारण लालकलीको निधन भयो। ‘गाउँमा अस्पताल छैन, बाटो पनि राम्रो छैन’, उनले थपे, ‘बिरामीलाई समयमा अस्पताल लैजान सकिँदैन, धेरैको प्राण त बाटोमै जान्छ।’
कर्णालीका दुर्गम गाउँमा बिरामी बोक्ने एम्बुलेन्स नै छैनन्। अस्पतालसम्म पुग्नलाई सडक पनि छैन। सडक सञ्जालमा नजोडिएको डोल्पाको व्यथा पनि कम छैन। तल्लो डोल्पामा अस्पतालको सुविधा भए पनि माथिल्लो डोल्पाका नागरिक भने भगवान भरोसामा बाँचेका छन्। भौगोलिक विकटताका कारण सदरमुकाम दुनैसम्म पुग्न हप्तौं लाग्छ। बिरामी भएमा स्थानीयले हेलिकोप्टर नै चार्टर गर्नुपर्ने बाध्यता छ। कमजोर आर्थिक अवस्था भएकाहरू उपचार नै गराउन सक्दैनन्।
मान्छेले बोक्नुपर्ने बाध्यता
कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा बिरामीलाई अस्पतालसम्म पुर्याउन मान्छेले नै बोक्नुपर्ने बाध्यता छ। यातायातको पहुँच नहुँदा गाउँले भेला भएर बिरामीलाई बोकेरै अस्पतालसम्म लैजाने गर्छन्। विषेश गरी हिँउदको समयमा पुरुष मजदुरीका लागि कालापहाड जाने भएकाले बिरामीलाई अस्पतालसम्म लैजान समस्या हुने गरेको छ।
बिरामी हुँदा मान्छेले नै बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको सुर्खेतको बराहताल गाउँपालिका चेपाङका बासिन्दा युवराज वलीले बताए। वर्षात्को समयमा ग्रामीण सडकहरू पनि बन्द हुँदा गाउँलेले बोकेर अस्पताल पुर्याउने गरेको उनको भनाइ छ।
गाउँ बस्दैनन् स्वास्थ्यकर्मी
गाउँका स्वास्थ्य चौकीमा डाक्टर नै बस्दैनन्। दरबन्दी भए पनि दक्ष चिकित्सक सदरमुकाम बाहिर जानै मान्दैनन्। जसले गर्दा गाउँका अधिकांश स्वास्थ्य संस्था कार्यालय सहयोगीका भरमा छन्। परिणाम स्वरुप सामान्य बिरामीलाई पनि उपचारका लागि जिल्ला अस्पताल पुर्याउनै पर्ने बाध्यता छ।
कालिकोटको नरहरिनाथ गाउँपालिकामा फार्मेसी सञ्चालन गर्दै आएका किशोरकुमार रावल भन्छन्, ‘सरकारी स्वास्थ्य संस्थाको अवस्था नाजुक छ, दक्ष डाक्टर र औषधि नै हुँदैन। कसरी बिरामीले भरपर्दो उपचार पाउनु ’ उनले थपे, ‘सरकारी स्वास्थ्यचौकी आफैं बिरामी छन्, अब जनताले कसरी सेवा पाउन सक्लान्।’
निजी मेडिकलमा सामान्य बिरामीको मात्र उपचार हुन्छ। जटिल बिरामीलाई भने मेडिकलले जिल्ला अस्पतालमा रिफर गर्ने गरेका छन्। तर कर्णालीमा सबै जिल्लामा सदरमुकाममा रहेका जिल्ला अस्पतालसम्म पुग्नै कठिन छ। यसले पनि बिरामीले समयमै उपचार पाउन सकेका छैनन्। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।