काठमाडौं, १७ भदौ । एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् ।
मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् ।
कोहलपुर नगरपालिका–३ निवासी ७० बर्षे वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै आइरहेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी मानबहादुर बिसीका अनुसार पीडित बालिकाले शुक्रबार प्रहरीमा हजुरबुवाविरुद्व उजुरी दिएकी छन् ।
आरोपी वृद्धलाई शुक्रबारै पक्राउ गरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । शुक्रबारै पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । आरोपीलाई पक्राउ गरिए पनि शनिबार बिदा भएकाले आइतबार मात्रै जाहेरी दर्ता गरिने कोहलपुर प्रहरीले जनाएको छ ।
त्यस्तै मंगलबार कोहलपुर नगरपालिका–३ मैटहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी थिइन् । नाताले काका पर्ने भारत उत्तरप्रदेश डिन्नी रहेली घर भई कोहलपुर–४ बस्ने १५ बर्से किशोर हरूण खाँले घर पु¥याइदिने भन्दै आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार पनि रूपन्देहीमा ६ वर्षीया बालिका बलात्कारको सिकार भइन् । कञ्चन गाउँपालिकाकी उनलाई २० बर्से विकल भन्ने खेमबहादुर पुनले बलात्कार गरेका थिए । मावली घर आएकी उनलाई राति चकलेट दिन्छु भन्दै उनले बलात्कार गरेका हुन्, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।