काठमाडौं, २६ साउन । अमेरिकाको सियाटल विमानस्थलबाट विमान सेवा कम्पनीका कामदारले चोरेको विमान नजिकैको समुन्द्री टापुमा दुर्घटना भएको छ ।
अधिकारीहरुका अनुसार विमनस्थलमा राखिएको एउटा खाली विमान अनुमति विना नै विमान सेवा कम्पनीका कामदारले उडाएका थिए । अनाधिकृत रुपमा विमान उडाएपछि सियाटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो ।
चोरीपछि विमानलाई दुई वटा एफ–१५ लडाकू जेटले पछ्याएको थियो । केट्रोन टापुको दक्षिणी क्षेत्रमा दुर्घटनामा पर्नुअघि उक्त व्यक्तिलाई विमान अवतरणका लागि हौसला दिइएको एअर ट्राफिक कन्ट्रोलरले बताएका छन् ।
भिडियो गेम खेलेकाले आफैंले विमान अवतरण गर्नसक्ने भन्दै उसले इन्धनबारे जानकारी मागेको बताइएको छ । दुर्घटनामा ‘विमान चोर’ को पनि मृत्यु भएको जनाइएको छ । स्थानीय अधिकारीले यो घटना आतंककारी नभएको भन्दै विमान चोर स्थानीय २९ वर्षीय व्यक्ति रहेको जनाएका छन् ।