फल्नै छाड्यो सोलुमा स्याउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

फल्नै छाड्यो सोलुमा स्याउ

apple tree

सोलुखुम्बु, १३ साउन । सोलुखुम्बुको फाप्लुस्थित वागवानी केन्द्रमा केही वर्षअघिसम्म लटरम्म स्याउ फल्ने गथ्र्यो।

तर २/४ वर्षयता स्याउ फल्न छोडेको छ। मौसम प्रतिकूल हुँदा सोलुखुम्बुको स्याउको पकेट क्षेत्र केरुङ, गोराखानी र टाप्टिङमा स्याउ फल्न छोडेको छ। सल्लेरी, टाक्सिन्दु, गार्मा, तामाखानी, चौरी खर्क, बेनी, तिङ्ला, गोली, भकान्जे, छेस्काम, गुदेललगायत क्षेत्रमा स्याउ उत्पादन घटेको छ। उत्पादनमा ९० प्रतिशतसम्म ह्रास आएपछि सोलुका किसान र प्राविधिकसमेत बिलखबन्दमा परेका छन्।

फूल फुल्ने समयमा बादल लाग्ने, पानी पर्ने गर्नाले स्याउको परागसेचन नै नहुँदा स्याउ फल्न छाडेको कृषि प्राविधिक बताउँछन्। ९० वर्ष अघिदेखि सोलुमा स्याउ उत्पादन हुँदै आएको छ। ४० वर्ष अघि यहाँ स्याउको व्यावसायिक खेती सुरु भएको थियो। पछिल्लो समयमा सोलुखुम्बुमा स्याउ फल्न छाडेको वागवानी केन्द्र फाप्लु सोलुखुम्बुका वरिष्ठ वागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताए।

‘सोलुको वागवानी केन्द्रमा तीन वर्षअघिसम्म फाट्टफुट्ट स्याउ फल्ने गरेको थियो’, उनले भने, ‘तीन वर्ष अघिसम्म अलिअलि फल्दै थियो, अहिले स्याउ फल्नै बन्द भएको छ।’ जलवायु परिवर्तनका कारण स्याउ फल्न छाडेको उनको भनाइ छ।

‘पहिले हिउँ पथ्र्यो, अहिले पर्दैन, तापक्रम बढ्न थाल्यो’, उनले भने, ‘चिसोमा अति चिसो र गर्मीमा अति गर्मी हुन थाल्यो, अस्वाभाविक वर्षा हुन थाल्यो। यस किसिमको हावापानी स्याउका लागि प्रतिकूल हो।’ स्याउका लागि उच्च हिउँ पर्ने स्थान, आद्र्रता कम भएको, पानी कम पर्ने, घाम लाग्ने क्षेत्रलाई उपयुक्त मानिने श्रेष्ठले बताए।

उत्पादन घटेपछि यहाँका किसान स्याउ खेतीमा निरुत्साहित भएका छन्। स्याउ फल्न कम भएपछि सोलुमा स्याउको व्यावसायिक खेती गर्दै आएका १ सय ५० किसान समस्यामा परेका छन्। उत्पादन घटेपछि यहाँका किसान समेत स्याउ खेतीमा निरुत्साहित भएका छन्। स्याउ फल्न कम भएपछि सोलुमा स्याउको व्यावसायिक खेती गर्दै आएका १ सय ५० किसान समस्यामा परेका छन्।

सोलुखुम्बुमा २ सय १३ हेक्टर क्षेत्रफलमा स्याउखेती हुने गरेको छ। वागवानी केन्द्रको १७ दशमलव ५ हेक्टर जग्गामध्ये ८ हेक्टरमा स्याउको बगैंचा छ। तर उत्पादन घटेपछि व्यावसायिक खेती गर्दै आएका किसानले यसको विकल्प खोज्नुपर्ने अवस्था आएको वरिष्ठ वागवानी अधिकृत श्रेष्ठ बताउँछन्।

प्राविधिक दृष्टिले सोलुखुम्बु स्याउका लागि उपयुक्त नभएको बताए। ‘टेक्निकल्ली पनि सोलु स्याउका लागि उपयुक्त क्षेत्र होइन’, उनले भने, ‘तर यहाँ वर्षौंदेखि स्याउखेती भने भइरहेको छ।’

पोहर रोपेको, अहिले लटरम्म
पुराना जातका स्याउ लोप हुन थालेपछि सोलुखुम्बुमा नयाँ ‘उच्च धनत्व स्याउ खेती’ सुरु गरिएको छ। छिटो उत्पादन हुने भएका कारण उच्च धनत्व स्याउ खेती सुरु भएको हो। नेपालमा मनाङबाट सुरु भएको यो प्रविधि २०७३/७४ सालबाट सोलुमा पनि लगाउन थालिएको वागवानी केन्द्रका श्रेष्ठले जानकारी दिए। परीक्षणस्वरूप लगाउन थालिएको यो स्याउ एकै वर्ष फलेको उनले बताए।

‘पोहर साल रोपेको अहिले लटरम्मै फलेको छ, यो एकै वर्षमा उत्पादन दिने स्याउ हो’, उनले भने। यहाँको वागवानी केन्द्रमा मात्रै ३ सय बोट उच्च धनत्व स्याउ लगाइएको छ। किसानले पनि यस्तो स्याउ लगाउन थालेको वागवानी केन्द्रकी प्राविधिक सहायक सुमिता दाहालले जानकारी दिइन्।

गोल्डेन डेलिसियस र फुजी जातको यो स्याउको बिरुवा इटालीबाट आयात गरिएको उनको भनाइ छ। समुद्री सतहबाट २ हजार मिटरदेखि ३ हजार मिटरको उचाइमा यो स्याउ खेती गर्न सकिन्छ। यो स्याउ स्वादिलो भए पनि दाना भने आकर्षक नहुने श्रेष्ठले बताए। आर्कषक दाना नहुने हुँदा यो स्याउमा काठमाडौंलगायत स्थानमा बिक्रीवितरण हुन मुस्किल हुने उनको तर्क छ।

इटालीबाट ल्याएको बिरुवा ठूलो भएका कारण रोपेको एक वर्षमै फल्न सुरु भए पनि भारतबाट ल्याएको स्याउ भने ३ वर्षमा मात्र फल्छ। नेपालमा सोलुका साथै मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, डोल्पा र मुुगुको हावापानी स्याउका लागि उपयुक्त छ। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);