काठमाडौं, १२ साउन । डा. गोविन्द केसीसँगको सम्झौतापछि चिकित्सा शिक्षा विधेयक शुक्रबार प्रतिनिधिसभामा पेस भएको छ । डा. केसी र सरकारबीच बिहीबार राति भएको नौबुँदे सहमतिमा केसीका माग समेटेर विधेयक पारित गर्ने सम्झौता भएको थियो । केसीका माग सम्बोधन गर्नुपर्ने भन्दै संसद् अवरोध गर्दै आएको प्रमुख विपक्षी कांग्रेस पनि केसीसँगको सहमतिपछि संसद् सञ्चालन गर्न सहमत भएको थियो । कांग्रेसले विधेयकमाथि दिएको विरोधको सूचना पनि फिर्ता लिएको छ ।
विधेयक पेस गर्ने क्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीसँगका सम्झौतालाई समेटेर विधेयक पारित गरिने बताए । विधेयकमाथि संशोधन हाल्ने समयमा केसीसँगका सम्झौतालाई विधेयकमा प्रवेश गराइने सरकारले जनाएको छ । कांग्रेसले केसीसँगका सम्झौता आफूले थाहा नपाएको भन्दै प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध गरेको थियो । बैठक स्थगितपछि सहमतिपत्र सांसदलाई वितरण गरिएको थियो । उक्त सहमतिपत्र पाएपछि प्रतिनिधिसभाको दोस्रो बैठकमा विधेयक पेस भएको हो । विधेयकमाथि असहमति जनाउँदै कांग्रेसले राखेको विरोधको सूचना पनि फिर्ता लिएको छ ।
कांग्रेसका गगन थापाले एउटै विषयलाई लिएर पटकपटक अनशन बस्नु लाजमर्दो भएको भन्दै डा. केसीका माग समेटेर विधेयक पारित गर्नुपर्ने बताए । ‘‘अब डा. केसीलाई हार्न दिन्नांै, हामी पनि हार्दैनौं’, थापाले भने, ‘हामीलाई सरकार र संसद्माथि विश्वास छ ।’ डा. केसीसँगको वार्ता भाँड्न खोजेको भन्दै आफूमाथि निराधार हल्ला फिँजाइएको भन्दै थापाले आपत्तिसमेत जनाए ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।




