सरकारी वार्ता टोली र डा गोविन्द केसीको वार्ता टोलीबीच आज सहमतिको तयारी | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

सरकारी वार्ता टोली र डा गोविन्द केसीको वार्ता टोलीबीच आज सहमतिको तयारी

govinda kc

काठमाडौं, ९ साउन । सरकारी वार्ता टोली र अनसनरत डा. गोविन्द केसीको वार्ता टोलीबीच आज सहमतिको तयारी भएको छ ।

मंगलबार रातिसम्म भएको वार्तामा डा. केसीले उठाएका मागमध्ये अधिकांश बुँदामा सहमति भएको र बाँकी केही बुँदामा आज सहमति हुने वार्ता टालीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बाँकी विषयमा आज पुनः छलफल गरेर सहमति जुटाउनेगरी मंगलबारको वार्ता सकिएको हो । योसँगै डा केसीको अनसन पनि आज नै तोडिनसक्ने सम्भावना रहेको चिकित्सक केसीका तर्फबाट वार्तामा संलग्न रहेका ओम प्रकाश अर्यालले जानकारी दिए ।

चिकित्सा शिक्षा विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने सहमति हुन नसकेपछि आज थप छलफल गरेर सहमतिमा पुग्ने बताइएको छ । दुई पक्षबीचको छलफलमा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शैयाको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषयमा छलफल भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले जानकारी दिए ।

यस्तै, विधेयकबाट हटाइएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका कार्यक्रमहरु समेत थप गर्ने विषयमा छलफल भएको थियो । शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने थिए । यसैगरी, डा. केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी थिए ।