खोटाङ, २ असार । उपन्यासकार लीलबहादुर क्षेत्रीले गाउँका शोसक सामन्तले उठिबास लगाएका कारण निम्नवर्गीय किसान बसाइँ सर्न बाध्य भएको कथा बुनेर ६ दशकअघि दशकअघि ‘बसाइँ’ (२०१४) उपन्यास लेखेका थिए ।
यति बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका किसान पनि बसाइँ सर्नुपर्ने बाध्यतामा छन्। तर कारणको रुप भने फरक छ। शोषक सामन्तका कारण होइन, दोर्पा चिउरीडाँडाका किसान बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था आइलागेको छ।
खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि दोर्पा चिउरीडाँडाका किसान हैरान भएका छन्। बाँदरले खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाइदिएको उनीहरुको गुनासो छ। हुलकाहुल आउने बाँदरले बर्सेनि मकैका सुत्ला च्यात्ने, घोगा नष्ट गर्ने, गहुँ, कोदोको बीउ उखेल्ने, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा नष्ट गर्ने हुँदा हैरानी खेप्नुपरेको स्थानीय पद्म हिङमाङले बताए।
बाँदरले खेतबारीको अन्नबाली सखाप बनाएपछि खाने कुराको अभावमा बसाइँ सर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ। गाउँका केही घरपरिवार बसाइँ सर्ने तयारी गरेको स्थानीयले बताए।
बाँदरले फल्न, फुल्न र पाक्न लागेको बालीनाली नष्ट बनाएका कारण किनेर ल्याएको अन्नमा निर्भर हुनुपर्ने बाध्यता भएको किसानको गुनासो छ। दिनभर बाँदर धपाउनुपर्ने बाध्यताका कारण बालबच्चाको पठनपाठनमा समेत नकारात्मक असर पुगेको छ। बाँदर नियन्त्रणको भरपर्दो व्यवस्था हुनुपर्ने, अन्नबालीको क्षतिपूर्ति पाउनुपर्ने, बन्दुक पड्काएर धपाउन पाउनुपर्ने पीडित किसानको माग छ।