काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतले मुलुक बनाउने संकल्प नगरेसम्म देशको विकास नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको विकासप्रति प्रतिवद्ध बन्न युवालाई आग्रह गरेका छन् ।
राष्ट्रिय युवा परिषद्ले शुक्रबार राजधानीमा गरेको प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले युवा जगतको देश बनाउने संकल्पको खाँचो रहेको बताए ।
आफ्नो देश आफैले बनाउनुपर्छ भन्दै उनले देश बनाउने मै हुँ भन्ने भावना युवा जगतमा नआएसम्म मुलुकले विकासको गति लिन नसक्ने र समृद्धि हासिल गर्न नसकिने बताए ।
आफुले देश बनाउने सपनालाई साकार बनाउन चाहेको उल्लेख गर्दै उनले भने “कोमामा गएका छन् सपनाहरु ती सपनालाई जिवित बनाउन चाहन्छु । आत्मविश्वास कोमामा गएको छ, त्यो आत्मविश्वास जगाउन चाहन्छु । त्यसैले देश बनाउँछ ।”
हजारौ बर्ष पहिले वेदको रचना गर्ने, कला संस्कृति साहित्यको श्रृजना गर्ने विद्धान पुर्खाका सन्तानहरु अहिले थैला भरी पैसा बोकेर विदेशमा पढ्न जानु परिरहेको भन्दै उनले युवाहरुको आत्मविश्वास सहितको प्रतिवद्धता भए शिक्षा स्वास्थ्य लगायत सबै क्षेत्रको विकास गर्न सकिने बताए ।
युवाहरुले चालेको विज्ञान र आविष्कारका योजनालाई सरकारले गच्छेअनुसार सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । विज्ञान सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आईतबार सम्म चल्ने छ ।