विश्वकप फुटबल : आजको पहिलो खेलमा इजिप्ट र उरुग्वे भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

विश्वकप फुटबल : आजको पहिलो खेलमा इजिप्ट र उरुग्वे भिड्दै

salah-suarez

काठमाडौं, १ असार । हिजोबाट रुसमा सुरु विश्वकप फुटबलमा आज इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । एकाटेरीनबर्गस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे हुने समूह ‘ए’ को दोस्रो खेलमा यी दुई टोली भिँड्न लागेका हुन् ।

सन् १९९० पछि बल्ल विश्वकप मैदानमा उत्रिन लागेको इजिप्ट र १९३०, १९५० गरी दुई पटक विश्वकप उपाधि उचालिसकेको उरुग्वेबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यसअघिका विश्वकपमा खासै राम्रो प्रदर्शन गर्न नसकेको अफ्रिकन टोली इजिप्ट यसपटक निकै लयमा देखिएको छ । त्यसैले फिफा वरियतामा ४६ औँ स्थानमा रहेको इजिप्टलाई विश्वकपमा समूह ‘ए’ को बलियो टोलीका रुममा हेरिएको छ ।

इजिप्टसँग बलियो ‘लाइनअप’ नभएपनि उसको पछिल्ला प्रदर्शनहरु निकै उत्कष्ट छन् । इजिप्टबाट पहिलो खेलमा मोहम्मद एल सेन्नावी, अलि गर्ब, अहमद हेगाजी, अहमद फाथी, मोहम्मद अब्देल सफी, तारेक हमेद, मोहम्मद एल नेनी, अब्दल्ला सइद, रामादन सोब्ही, मोहमुद हसन, मारवन मोहसेन मैदान उत्रने सम्भावना छ । प्रशिक्षक हेक्टर कुपरका अनुसार मोहम्मद सलाह पनि आज मैदान उत्रदैछन् ।

त्यसो त, उरुग्वेको इतिहास इजिप्टको तुलनामा बलियो छ । उसले दुई पटक विश्वकप उपाधि जितिसकेको छ । यद्यपि, ब्राजिल विश्वकपमा भने यो टोली समूह चरणबाटै घर फर्किएको थियो । यसपटक समूह चरण सहजै पार गर्ने उसको दाउ छ । हुन पनि उरुग्वे युरोपियन लिग र दक्षिण अमेरिकी लिगका चर्चित खेलाडी लिएर मैदान उत्रदैछ । लुइस स्वारेज, फर्नान्दो मुस्लेरा, गुलेर्मो भारेला, जोसे मारिया गिमेन्ज, डिएगो गोडिन, मार्टिन क्यासिरेस, नाहिटन नान्देज, माटियस भेसिनो, क्रिष्टियन रोर्डिगेज, जर्जियन डि एरेसकेता, इडिसन काभानीलाई उरुग्वेले मैदान उतार्ने सम्भावना छ ।

इजिप्ट र उरुग्वेबीचको प्रतिस्पर्धालाई खासगरी दुबै टोलीका दुई स्टार खेलाडीको प्रतिष्ठाका रुपमा हेरिएको छ । दुबै टोलीका शुभचिन्तकका आँखा इजिप्टका मोहमद सलाह र उरुग्वेका लुइस स्वारेजतिर नै छ । सलाहमाथि अफ्रिकन जगतको ठूलो भर छ भने उरुग्वेसहित उसका शुभचिन्तकलाई स्वारेजमाथि ।

च्याम्पियन्स लिग फुटबलमा फाइनल दौरान काँधमा चोट लागेर घाइते भएका सलाह निको भइसकेको इजिप्टका प्रशिक्षकले बताएका छन् । सलाह मैदान उत्रिएमा विपक्षी टोलीको डिफेन्सलाइन निकै व्यस्त हुनेछ । तर, उरुग्वेले पनि इजिप्टलाई राम्रैसँग पेल्न सक्छ । किनकी उसँग स्वारेज र स्वारेजसँग भेट्रान खेलाडी इडिसन काभानी हुनेछन् । यी दुई स्टारको जोडी राम्रैसँग जम्ने गरेको छ ।

स्मरणीय छ, स्वारेज र काभानीले उरुग्वेका लागि ९३ गोल गरिसकेका छन् । जसमा स्वारेजको ५१ र काभानीको ४२ गोलको योगदान छ । इजिप्टविरुद्धको खेलमा पनि यी दुई जोडीको ट्याकल मिले इजिप्टका डिफेन्डरलाई रोक्न कठिन पर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);