एजेन्सी, ३१ जेठ । पाकिस्तानमा २५ जुलाईमा हुने आम चुनावका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले तयारी तीव्र पारेका छन् । पूर्वपाकिस्तानी तानाशाह परबेज मुसर्रफ पनि विदेशबाटै निर्वाचनको तयारीमा जुटेका छन् ।
पाकिस्तानमा यही २५ जुलाइमा हुने आम चुनावको सरगर्मी बढेको छ । पाकिस्तानको संसदमा ३ सय ४२ सिटका लागि हुुने चुनावमा १ सय ७२ सीट ल्याउनेले सरकार बनाउन सक्नेछन् । निर्वाचनको तयारी स्वरुप दलका नेताकार्यकर्ता लगायत निर्दलीय उम्मेदवारहरु मतदातालाई प्रभावित पार्न आफ्नो एजेण्डासहित निर्वाचनको मैदानमा होमिसकेका छन्।
मतदाताहरुमा पनि यस अघिका निर्वाचनका बेला गरिएका प्रतिबद्धता पुरा नभएको भन्दै यस पटक कसलाई जिताउने भन्ने बहस सुरु भएको छ । यस्ता विषयबस्तुले प्राथमिकता पाउँदा एउटै पार्टीको बहुमत पुग्न कठिन हुने चुुनावी सर्बेक्षणमा संलग्न संस्थाहरुको आंकलन छ ।
पछिल्लो पटक नवाज सरिफको दल पीएमएलएनले पूर्ण बहुुमत ल्याउन नसक्दा १९ जना निर्दलिय सांसदहरुको सहयोगमा सरकार बनाएका थिए । भ्रष्टाचारमा मुछिएर सत्ताच्यूत भएका नवाज सरिफ आफ्नो दललाई पहिले भन्दा राम्रो स्थान दिलाउन प्रयत्नशील छन् ।
उता पाकिस्तानका पूर्व सेना प्रमुुख ७४ बर्षीय परबेज मुसर्रफ पनि यो चुनावमा भाग लिने तयारीमा जुटेका छन् । राष्ट्रद्रोहको आरोपमा गिरफ्तार हुुने भयका कारण मुसर्रफ दुुबईबाट पाकिस्तान फर्केका छैनन् ।
यद्यपी मुसर्रफको पार्टीले उनलाई पाकिस्तानको चित्रालको उत्तरी शहरको निर्वाचन क्षेत्रबाट चुनाव लडाउने तयारी गरिरहेको छ । मुसर्रफको सत्ता सन् १९९९ मा खोसिएको थियो । त्यसपछि नवाज सरिफलाई पाकिस्तानको प्रधानमन्त्री बनाइएको थियो ।
सन् २००७ मा बेनेजिर भुट्टोको हत्यापछि नवाज सरिफमाथि भ्रष्टाचारको आरोप लागेको थियो । अन्ततोगत्वा भ्रष्टाचार मामिलामै सन् २०१८ मा सर्बाेच्च अदालतले नवाज सरिफलाई प्रधानमन्त्री पदका लागि अयोग्य घोषित गरेपछि उनले राजीनामा दिएका थिए ।
पाकिस्तानको अदालतमा देशद्रोहको मुद्धा खेप्दै आएका पूर्व राष्ट्रपति परबेज मुसर्रफ पनि अब चुनावका निम्ति पाकिस्तान आउने प्रयत्नमा छन् । पाकिस्तान सरकारले स्वदेश फर्किन चाहेका मुसर्रफको सुरक्षा मागलाई अस्वीकार गरेपछि उनले पाकिस्तान फर्किने वा निर्वासित जीवन बिताउनेबारे भने निर्णय लिन सकेका छैनन ।