काठमाडौं, २५ जेठ । सरकारले काठमाडौंका विभिन्न स्थानमा समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको नामावली तयार गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार विकास निर्माणका काम जिम्मा लिएर आलटाल गर्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि नामावली सङ्कलन गरिएको हो ।
मन्त्रालयले ढिलासुस्ती गर्ने ठेकेदारको नाम संकलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई निर्देशन दिएको थियो । सोही अनुसार करिब तीन सय निर्माण कम्पनीको नाम संकलन गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गृहलाई बुझाएको हो ।
विकास निर्माणको काम जिम्मा लिएर ठेकेदार कम्पनीले सम्झौताअनुसार जिम्मेवारी पूरा नगर्दा पनि सरकार मुकदर्शक बनेको भन्दै चौतर्फी आलोचना भएपछि गृहमन्त्री रामबहादुर थापा त्यस्ता निर्माण व्यवसायीविरुद्ध कठोर देखिएका छन् । उनले ढिलासुस्ती गर्ने ठेकेदारलाई जेल हाल्ने चेतावनीसमेत दिँदै आएका छन् ।