काठमाडौं, १४ जेठ । सरकारले स्वेच्छिक अवकाशका लागि आवेदन दिएका कर्मचारीलाई आवेदन फिर्ता लिन मौका दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कर्मचारीहरुले आवेदन फिर्ता लिन मौका दिने निर्णय गरेको हो । कर्मचारी समायोजन ऐन २०७४ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन अनिच्छा व्यक्त गर्दै स्वेच्छिक अवकाशका लागि करिब १० हजारले आवदन बुझाएका छन् ।
आवेदन बुझाएका सबैलाई अवकाश दिंदा ४० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने भएपछि सरकारले आवेदन फिर्ता लिन मौका दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।
यस्तै, दक्षिण कोरियासँगको श्रम समझदारीपत्रलाई नवीकरण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । बैठकले श्रम नियमावली–२०७५ स्वीकृत गरेको छ ।