काठमाडौं, ८ जेठ । भारत सरकारले विराटनगरस्थित फिल्ड अफिस बन्द गरेको छ ।
नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा बाढी आएको अवस्थामा खोलेको ’फिल्ड अफिस’ को उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यालय चाँडै हट्ने बताउँदै आउनुभएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाख २८ र २९ मा भएको नेपालको राजकीय भ्रमणका अवसरमा सो कार्यालय हटाउने भारत सरकारको निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो । तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सो कार्यालय हटाउन कूटनीतिक पहल गरेका थिए ।