‘तेस्रो लिङ्गी’लाई ठमेलमा निषेध | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

‘तेस्रो लिङ्गी’लाई ठमेलमा निषेध

tesro lingi

काठमाडौं, ३१ बैशाख । ‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले ठमेलमा रमाइलो गर्न आउने पर्यटकको पर्स र सुनका गहना लुटिन थालेपछि अपराध नियन्त्रण गर्न स्थानीय प्रहरीसँगको सहकार्यमा रात्रिकालीन सुरक्षागस्तीको व्यवस्था गरिएको बताए ।  युवतीको भेषमा समूह बनाएर ठमेल र दरबारमार्ग आउने तेस्रो लिङ्गीले हप्तामा दुई÷तीन दिन लुटपाट र पकेटमारी गर्ने गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

उनले दरबारमार्ग क्षेत्रमा तेस्रो लिङ्गीको समस्या निकै चुनौतीपूर्ण रहेको समेत बताए । अपराधमा संलग्नलाई पक्राउ गरी हिरासतमा राखे कपडा खोलेर नाङ्गो बसिदिने भएकाले समस्या झन थपिएको प्रहरीको आरोप छ ।

ठमेल र दरबारमार्गका पर्यटन व्यवसायीसँग सहकार्य गरी तेस्रो लिङ्गीलाई सडकमा आउन नदिन राति नौ बजेदेखि १२ बजेसम्म गस्ती हुने गरेको छ । यतिबेला पर्यटक आगमनको ‘सिजन’ भएकाले पनि बाह्य पर्यटकको सुरक्षाका लागि गस्ती गर्नुपरेको परिषद्का अध्यक्ष गुरुङले बताए ।

दरबारमार्ग प्रहरी वृत्तका प्रमुख मल्लले प्रत्येक दुई दिनमा तेस्रो लिङ्गीको संलग्नतामा पकेटमारी, लुटपाट र कुटपिट हुने गरेको बताए । राजधानीका ठमेल, दरबारमार्ग, गोंगबु, नयाँ बसपार्क, महाराजगञ्ज, लाजिम्पाट, रत्नपार्क, सानेपालगायतका क्षेत्रमा तेस्रो लिङ्गीको समस्या छ । महानगरीय प्रहरीका अनुसार ठमेल, दरबारमार्ग, बसपार्क र सानेपाबाट स्थानीयले नै तेस्रो लिङ्गी लखेट्न अभियान सञ्चालन गरेका छन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।