अन्तर्राष्ट्रिय राजनीतिको खेलाडी बन्ने रुचि छैन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय राजनीतिको खेलाडी बन्ने रुचि छैन : प्रम ओली

प्रधानमन्त्रीसँग वेलायती सांसद प्रतिनिधीको भेटघाट –

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय राजनीतिको खेलाडी बन्ने रुचि नभएको बताएका छन् । आफ्नो सरकार आउँदो तीन वर्षभित्र अति कम विकसित राष्ट्रको सूचिबाट विकासोन्मुख राष्ट्रमा उक्लिने ध्येयमा केन्द्रीत रहेको बताउँदै उनले देशको विकास र समृद्धिकालागि सबै छिमेकी राष्ट्रहरुको सहयोग र साथ हासिल गरिने धारणा व्यक्त गरे ।

विश्व राजनीतिमा नेपालले तटस्थता कायम राख्ने बताउँदै उनले चीनको वेल्ट एण्ड रोडको योजना र भारतको सबको साथमा सबैको विकास गरिने नारा दुवै नेपालको हितमा रहेको धारणा राखेका छन् ।

अन्तर संसद युनियन, आई पीयुको वेलायती समूहको प्रतिनिधि मण्डलसँग आफ्नै निवासमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

अढाई दशकदेखि वेलायतको तल्लो सदन हाउस अफ कमन्समा प्रतिनिधित्व गरिरहेका निगेल इभान्सको नेतृत्वमा आएको वेलायती सांसदहरुको प्रतिनिधि मण्डलमा डेभिड मोरिश, वीरेन्द्र शर्मा, केरी म्याकार्थी र माथिल्लो सदनका लर्ड बाल्फरहेका छन् ।

द्वन्द्वकालीन घटनाहरुका सम्बन्धमा राखिएको जिज्ञाशाको जवाफमा प्रधानमन्त्री ओलीले नेपालको कानुन, त्यस बेलाका घटनाहरुको सत्य तथ्य छानवीन गर्न बनाइएको आयोग र वेपत्ता पारिएकाहरुको छानवीन गर्न बनाइएको आयोगले संक्रमणकालीन न्यायलाई टुंग्याउने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले द्वन्द्वको दुवै पक्षमध्येका जोसुकै भए पनि मानव अधिकार तथा मानवीय कानुनको गम्भीर उल्लंघन गर्नेहरुलाई क्षमादान नदिइने प्रष्ट पारेका छन् ।

नेपाल र वेलायतको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री ओलीले वेलायतको लोकतन्त्र र संसदबाट नेपालले धेरै सिकेको बताए । नेपाल भाषिक र साँस्कृतिक विविधताले भरिपूर्ण धर्म निरपेक्ष देश भएकोले कुनै पनि धर्म, संस्कृति अंगाल्नेहरुप्रति राज्यले भेदभावको नीतिअंगीकार नगरेको उनले प्रष्ट पारे ।

संविधानका ३१ वटा धारामा मौलिक हकहरुको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचित निकायहरुमा ४१ प्रतिशत महिलाहरुको प्रतिनिधित्व रहेको उल्लेख गरे।

निर्वाचित निकायहरुमा महिला सहभागितामा उल्लेखनीय ढंगले वृध्दि भएका कारण राष्ट्रिय जीवनका सबै क्षेत्रमा महिलाको सहभागिता र सामाजिकीकरणको प्रकृयामा अभिवृध्दि भएको प्रम ओलीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);