एजेन्सी, १४ बैशाख । आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पञ्जावलाई १३ रनले पराजित गरेको छ । सनराइजर्सले गएराति भएको खेलमा १ सय ३३ रनको लक्ष्य पछ्याएको किंग्स इलाभेनलाई १ सय १९ रनमा रोकेर १३ रनको जित हात पारेको हो ।
टस जितेर पहिले फिल्डिङ रोजेको किंग्स इलाभेनले सनराइजर्सलाई खुलेर खेल्न दिएन । खासगरी अंकित राजपूतले कसिलो बलिङ गर्दै चार ओभरको स्पलेलमा जम्मा १४ रन दिएर पाँच विकेट लिए । किंग्स इलाभेनका लागि यो अहिलेसम्मकै उत्कृष्ट बलिङ हो ।
अंकितको कसिलो बलिङका कारण सनराइजर्सले ६ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनायो । मनिष पाण्डेले सर्वाधिक ५४ रन बनाए । तर सामान्य लक्ष्य पछ्याएको किंग्स इलाभेन १९ दशमलव २ ओभरमा १ सय १९ रनमा अलआउट भयो ।
केएल राहुलले ३२ तथा क्रिस गेलले २३ रन बनाएकामा ६ खेलाडी दोहोरो रन नजोडि पेभेलियन फर्किंदा किंग्स इलाभेन अंक तालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुमाउनुका अतिरिक्त तेस्रो स्थानमा झर्यो । सात खेल खेलेको किंग्स इलाभेनको ५ जितसहित १० अंक छ ।
प्रतियोगीतामा आज दिल्ली डेयरडेभिल्स र कोलकत्ता नाइट रइडर्सबीचको खेल हुने छ ।




