ललितपुर, १२ बैशाख । ललितपुर छम्पीका काँइला सिङतानको परिवार अझै जस्ताको साँघुरो टहरामा बसिरहेको छ। टहराभित्र हरेक बर्खामा पानीको भेल पस्छ। जाडोमा शीत झर्छ। उनकी पत्नी काइँली सिङतान दुखेसो पोख्छिन्, ‘साना बच्चालाई चिसोमा कसरी जोगाउनु ? बर्खेभेल टहरोमा पस्दा कहाँ राख्नु ?’
२०७२ वैशाख १२ गते अगाडि सिङतान परिवारको जीवन ठीकठाक चलिरहेको थियो। तर जब १२ वैशाखको भूकम्पको धक्काले उनको घर भत्कायो अनि सिङतान परिवारको दुखका दिन सुरु भए। परिवार पाल्ने छोरी ज्वाईं विक्रम थोकरले पनि पाल्पाको ट्रक दुर्घटनामा ज्यान गुमाएपछि सिङतान परिवारको अझ कन्तबिजोक भयो।
सिङतान दम्पतिको एकमात्र छोरी छन् नितु। हिजोआज तिनै छोरीले ज्यालादारी गरेर वृद्ध आमाबुवा पालिरहेकी छन्। वृद्ध बुवा कहिलेकाहीं काम गर्न जाँदा नितु दुःखित हुन्छिन्। उनी भन्छिन्, ‘ढाडको रोगी बुवाको कमाइ मैले खानु नपरोस् जस्तो लाग्छ।’ खुट्टाकी बिरामी उनकी आमा सकिनसकी उनलाई काममा सघाइरहेकी छन्। नितुका दुई छोरी सिमरन र बेनिशा विदेशी दाताको खर्चमा पढ्न पाउँदा उनलाई ठूलै भरथेग भएको छ।
सिङतान परिवारको पुख्र्यौली जग्गाका नाममा एउटा साँघुरो घर बनाउन मिल्ने घडेरी सिवाय केही छैन, त्यसको पनि दाजु सोनामसँग संयुक्त लाजपुर्जा छ। छरछिमेकीले उनलाई तिम्रो जग्गा छैन त्यसैले सरकारले अनुदान दिँदैन भनेर अत्याउँदा नितु अत्यन्त दुःखित छन्। यस वर्षको बर्खासम्ममा सबैलाई नयाँ घरमा स्थानान्तरण गरिसक्ने प्रधानमन्त्री केपी ओलीको प्रतिबद्धता सुनेकी नितु आफ्नो घर कहिले बन्छ वा बन्छ कि बन्दै त्यो पनि थाहा छैन। निकट भविष्यमा सहरमा एउटा सानो होटल खोल्ने योजना सुनाउँदै उनी सुनाउँछिन्, ‘पैसा कमाएर बुढा आमाबुवालाई नयाँ घरमा राख्ने सपना छ।’अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।