साउन २८, काठमाडौँ ।
भारतका लागि नेपाली राजदुतदिप कुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण विगतका सन्धि सम्झौता कार्यान्वयनको दिशामा उपलब्धिमुलक हुने बताउनुभएको छ ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा राजदुत उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय पक्षसंग यसअघि विभिन्न आयोजना निर्माणका लागि गरिएका सम्झौताको कार्यान्वयनका सम्बन्धमा उपलब्धि मुलक छलफल हुने बताउनुभएको हो । प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा पूर्वाधार विकासमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनलाई मूर्त रुप दिने बारे समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुराकानी हुने उहाँले जानकारी दिनुभयो ।
विगतमा हस्ताक्षर भएका आयोजना, परियोजना तथा विषयगत सम्झौता कार्यान्वयनमा भएको प्रगतीको अवस्था बारेमा पनि विश्लेषणत्मक छलफल हुने राजदुत उपाध्यायले जानकारी दिनुभयो । के कति कारणले विगतका सम्झौता कार्यान्वयन हुन नसकेको भन्ने बारेमा दुवै पक्षले गम्भीर ढंगले केलाउनुको साथै आ आफुले त्यसको जिम्मेवारी लिने गरि छलफल अघि बढ्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भदौको पहिलो हप्ता भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।