अवैध कलेजमा पाँच वर्षदेखि पढाइ: अन्योलमा विद्यार्थीको भविष्य | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

अवैध कलेजमा पाँच वर्षदेखि पढाइ: अन्योलमा विद्यार्थीको भविष्य

oasis collage annapurna

काठमाडौं, २० चैत । चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ।
पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो। कलेजले चारबर्से बीएससी नर्सिङ र तीन  वर्षे बिएन विषयको पठनपाठन गर्दै आएको छ।

नर्सिङ शिक्षण संस्था सञ्चालन गर्न नेपाल नर्सिङ परिषद्बाट मान्यता लिनुपर्ने कानुनी व्यवस्था छ। तर, कलेजले मान्यता नै नपाएको काउन्सिलका रजिस्ट्रार लक्ष्मी राईले खुलाइन्।

उक्त कलेजबाट चारवर्षे बीएससी नर्सिङ अध्ययन पूरा गरी नाम दर्ता परीक्षामा सामेल हुन दुई विद्यार्थीले अनलाइनबाट फर्म भरेपछि अवैध भएको खुलेको हो। काउन्सिलले बीएससी नर्सिङ गरेका शोभा अर्याल र तनुजा श्रेष्ठलाई कलेज अवैध भएको जनाउँदै परीक्षामा सामेल गर्न रोकेको छ। रजिस्ट्रार राईले प्रश्न गरिन्, ‘मान्यता नै नदिएको कलेजबाट पढेकालाई कसरी परीक्षामा सामेल गराउने ’

परीक्षामा सामेल हुन नपाएकोमा विद्यार्थीद्वयले उच्च अदालत पाटनमा मुद्दा दायरसमेत गरेका थिए। अदालतले परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिए पनि मान्यता नै नपाएको कलेजमा अध्ययन गरेका विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गराउनु न्यायोचित नहुने ठहर परिषद्को बोर्ड बैठकले गरेको थियो।

परिषद् ऐन, २०५२ को दफा ९ अनुसार शिक्षण संस्थालाई मान्यता दिने अधिकार काउन्सिललाई रहेको छ।

पूर्वाञ्चल विश्वविद्यालयको मिलेमतो
शिक्षण संस्था सञ्चालन गर्न स्वीकृति दिनुपूर्व सम्बन्धित निकायले नर्सिङ परिषद्सँग परामर्श माग गर्नुपर्ने कानुनी व्यवस्था छ। सम्बन्धित शिक्षण संस्थाले आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा गरे(नगरेको जाँचबुझ गरी परिषद्ले परामर्श दिनुपर्छ।
परिषद्को परामर्शको आधारमा मात्र सम्बन्धित निकायले शिक्षण संस्था स्थापना र सञ्चालन गर्ने स्वीकृति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ।
काउन्सिलले पूर्वाधार नपुगेको भन्दै परामर्श दिए पनि सम्बन्धन दिएको पूर्वाञ्चल विश्वविद्यालयले बेवास्ता गर्दै आएको छ।
काउन्सिलकी रजिस्ट्रार राईले विश्वविद्यालयका उपकुलपतिलाई भेट्न जाँदा ‘रेस्पोन्स’ नगरेको बताइन्। आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा मुख्य खबर छ ।