काठमाडौं, २९ फागुन । भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शड्ढयामा रोइरहेका थिए । २९ वर्षीय उनले दायाँ हातले मोबाइल उठाएर आफू सकुशल भएको जानकारी परिवारलाई दिइरहँदा उनको बायाँ खुट्टाबाट रगत बगिरहेको थियो । ४४९ नं. को शड्ढयामा हसनको अवस्था देखेपछि डाक्टरहरू उनीतिर दौडिए । युएस बंगला एयरलाइन्सको विमानबाट घुम्न नेपाल आउँदै गरेका उनको केएमसीमै उपचार भइरहेको छ । उनको टाउको, करङ र खुट्टामा चोट लागेको छ । ‘पेटमा पनि समस्या भएझैं लागिरहेको छ,’ उनले भने ।
४३ वर्षीय बंगलादेशी नागरिक अहमद सहरिनको दायाँ कुम जलेको छ । छातीमा समेत चोट लागेकाले उनी कृत्रिम श्वास लिइरहेका छन् । उनीजस्तै घाइते भएका १२ जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । नर्भिकमा पाँच, ग्रान्डीमा तीन, ओम र मेडिसिटीमा एक\एक गरी २२ जनाको उपचाररत छन् । उपचाररत सबैको टाउको, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
काठमाडौं मेडिकल कलेजका कार्यकारी प्रमुख डा. दामोदर पोखरेलका अनुसार घाइतेको हड्डी, नशा, टाउकोलगायत अंगमा चोट लागेको छ । विमानस्थलबाट सबैभन्दा नजिक पर्ने भएकाले २५ जनालाई एम्बुलेन्समा काठमाडौं मेडिकल कलेज पुर्याइएको थियो । जसमध्ये आठ जनाको बाटोमै मृत्यु भयो । शारीरिक अवस्था हेरेर सम्बन्धित विभागमा उपचार भइरहेको डा। पोखरेलले जानकारी दिए । घाइतेको शरीरको केही भाग जलेको छ । उनीहरूको सिटिस्क्यान गर्नेलगायत परीक्षण भइरहेको छ ।
मेडिकल कलेजमा धर्मेन्द्रसिंह पुजाना, स्वराना, इमराना कविर, पिंकी धामी, सुमिना व्यञ्जनकार, कविर हुसेन, रसिद हसन, रिजाना अब्दुल्ला, डा. इरजाना, एमडी सहिनको उपचार भइरहेको डा. पोखरेलले बताए । अस्पतालमा प्रारम्भिक उपचार गराएपछि किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार र केशव पाण्डेलाई भने अन्यत्र रिफर गरिएको छ ।
सहनै नसकिने पीडा भोग्नुपरे पनि बाँच्न सफल भएकोमा घाइतेहरू खुसी देखिन्छन् । सँगै यात्रा गरेका थुप्रै व्यक्ति गुमेको पीडा पनि उनीहरूको आँखामा प्रस्टै झल्किन्थ्यो । दुर्घटनाको आधा घन्टापछि नै प्रधानमन्त्री केपी ओली अस्पताल पुगेर घाइतेलाई भेटेका थिए । उनले उपचारमा कमी हुन नदिन र प्रभावकारी उपचार व्यवस्था गर्न निर्देशन दिएका थिए । अन्नपुर्णपोष्टमा खवर छ ।