काठमाडौँ, २७ फागुन । राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलका नेताहरूले हिरासतभित्रै अनशनरत आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई रिहा गर्न माग राखेका छन् । गृहमन्त्री रामबहादुर थापासँग शनिबार भेटवार्ता गर्दै उनीहरूले उक्त माग राखेका हुन् ।
चौधरी २०७२ भदौ ७ मा कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाका मुख्य आरोपी हुन् । उनी प्रतिनिधिसभा चुनावमा भूमिगत रूपमै कैलाली १ बाट राजपा उम्मेदवार भई निर्वाचित भएका थिए । लामो समय भूमिगत रहेका उनले १४ फागुनमा कैलाली जिल्ला अदालतसमक्ष आत्मसर्मपणगरेका थिए । जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएकोमा उनले २० फागुनदेखि कारागारभित्रै अनशन थालेका थिए ।
राजपा नेताहरूले चौधरीलाई रिहा गरेर अविलम्ब उपचार प्रक्रिया थाल्न गृहमन्त्रीसमक्ष माग राखेका थिए । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले चौधरीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक भएको भन्दै काठमाडौं ल्याएर उनको उपचार थाल्न र मुद्दा फिर्ता लिएर शपथग्रहण गराउने वातावरण निर्माण गर्न सरकारसमक्ष माग राखिएको बताए । कान्तिपुरसँग कुरा गर्दै महतोले अनशनरत चौधरीको पिसाबबाट रगत आएको र स्वास्थ्यमा जटिलता देखा परेको बताए । ‘हाम्रो मागमा गृहमन्त्री सकारात्मक हुनुभएको छ । उहाँले प्रधानमन्त्रीसँग कुरा गरेर समाधानको बाटो खोज्ने बताउनुभएको छ,’ महतोले भने । उनले मानवीय हिसाबले पनि चौधरीको रिहाइको पहल गर्नुपर्ने र शपथको बाटो खोल्नुपर्ने पक्षमा आफूहरू रहेको बताए ।
काठमाडौं ल्याइयो
हिरासतमै अनशनरत चौधरीको स्वास्थ्य जटिल बनेको भन्दै उनलाई थप उपचारका निम्ति काठमाडौं ल्याइएको छ । सेती अञ्चल अस्पतालले चौधरीको उपचार सुविधासम्पन्न अस्पतालमा गर्नुपर्ने भन्दै रेफर गरेपछि काठमाडौं ल्याइएको हो । उनलाई शनिबार अपराहन नै वीर अस्पताल भर्ना गरिएको छ । आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।