काठमाडाैं, १८ फागुन । सर्वोच्च अदालतले कान्तिपुरविरुद्धको अबहेलना मुद्दामाथि आईतबारदेखि मात्रै बयान सूरु गर्ने भएको छ ।
बयानका लागि शुक्रबार सर्वोच्च अदालत पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नेतृत्वको टोलीलाई सर्वोच्च अदालतले शुक्रबार समय अभाव हुने भन्दै फिर्ता पठाएपछि आईतबारदेखि मात्रै वयान सुरु हुने भएको हो ।
प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको विवादित नागरिकता र शैक्षिक प्रमाण पत्रबारे छापिएको समाचारले अदालतको अबहेलना गरेको भन्दै सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधिर शर्मा र सम्वाददाता कृष्ण ज्ञवालीलाई शुक्रबार बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको थियो ।
सोही आदेश अनुसार शुक्रबार मध्यान्ह सिरोहियासहितको टोली सर्वाेच्च अदालत पुगेको थियो । तर अदालतका प्रवक्ता नारायण पन्थीले शुक्रबार आधा दिन मात्रै अदालत खुल्ने भएकाले आईतबार साँढे १० बजेबाट वयान सुरु गर्ने जानकारी दिए ।
त्यस अवसरमा कान्तिपुरप्रति ऐक्यवद्धता जनाउन संचारकर्मीहरु, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवाहरु पनि सर्वोच्च अदालत पुगेका थिए । बयानका लागि अदालत पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले सम्मानित अदालतको सम्मान गर्दै बयानका लागि अदालतमा उपस्थित भएको प्रतिक्रिया दिए । उनले प्रेस स्वतन्त्रताका लागि जुनसुकै निर्णय लिन पनि आफू तयार रहेको बताए ।
प्रधानन्यायाधिश पराजुलीको फरक-फरक मितिको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा समेत प्रश्न उठेपछि आएको समाचारले अदालतको अबहेलना गरेको भन्दै कान्तिपुरका प्रकाशक, प्रधानसम्पादक र संवाददातालाई आफै अदालतमा उपस्थित भएर बयान दिन सर्वोच्च अदालतले आदेश दिएको थियो ।