काठमाडौं ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले पुँजी बजारको विकासमा योगदान बढाउन नयाँ वित्तीय उपकरणहरूमा समेत लगानी विस्तार गर्न कोषले खोजिरहेको बताउनुभएको छ । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा उहाँले पुँजी बजारमा कोषको भुमिका थप प्रभावकारी बनाउन नयाँ वित्तीय उपकरणमा लगानी गर्ने व्यवस्था ऐनमै समेट्न खोजिएको बताउनु भयो । उहाँकाअनुसार नागरिक लगानी कोषको लगानीलाई परम्परागत क्षेत्रबाट विस्तार गर्दै पुँजी बजारका नयाँ वित्तीय उपकरणसम्म पु¥याउन आवश्यक छ । यसले पुँजी बजारको विकासमा योगदान पु¥याउनुका साथै उपलब्ध पुँजीलाई विभिन्न उत्पादनशील क्षेत्रमा परिचालन गर्ने अवसर सिर्जना गर्नेछ । कार्कीले कोषको लगानी क्षमता र कार्यक्षेत्र विस्तारसँगै सञ्चालनका क्रममा देखिएका व्यावहारिक तथा संस्थागत समस्याहरू समाधान गर्न पनि ऐन संशोधन आवश्यक रहेको बताउनु भयो । कोषको दैनिक सञ्चालनमा देखिएका कमीकमजोरी सुधार गर्ने र महालेखा परीक्षकको कार्यालयबाट हुने लेखापरीक्षणका क्रममा औँल्याइएका कैफियत सम्बोधन गर्ने विषयलाई समेत संशोधन प्रक्रियामा समेटिएको उहाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार कोषको संस्थागत संरचना र जिम्मेवारीलाई थप स्पष्ट बनाउने उद्देश्य पनि संशोधन विधेयकले राखेको छ । हालको ऐनमा कार्यकारी निर्देशक तथा सञ्चालक समितिको काम, कर्तव्य र अधिकार विस्तृत रूपमा स्पष्ट नभएकाले त्यसलाई कानूनमै व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको कार्कीले बताउनु भयो । उहाँकाअनुसार सञ्चालक समिति र कार्यकारी व्यवस्थापनबीचको जिम्मेवारी स्पष्ट पार्नुका साथै संस्थागत सुशासन, पारदर्शिता र व्यवस्थापकीय जवाफदेहितालाई प्रभावकारी बनाउन संशोधन आवश्यक भएको हो । नागरिक लगानी कोषको मूल उद्देश्य छरिएर रहेको वचतलाई एकीकृत गरी राष्ट्र निर्माणका लागि परिचालन गर्नु रहेकाले बदलिँदो वित्तीय बजार र लगानीका अवसरअनुसार कोषको कार्यक्षेत्र तथा लगानीका उपकरणहरू विस्तार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।





