२८ लाख ३५ हजार रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा १९ जनाको उजुरी
काठमाडौं, १६ फागुन । पछिल्लो समय चिट्ठाको प्रलोभनमा टेलिफोन, इमेल र भाइबरमार्फत सार्वसाधरण ठगिने क्रम बढेको छ । दुबई, नाइजेरिया, बंगलादेश र भारतबाट स्मार्टफोन प्रयोगकर्ताको मोबाइलमा भाइबर चिट्ठाको नक्कली प्रमाणपत्र पठाएर ठगी धन्दा भइरहेको छ ।
चिट्ठाको लोभमा सर्वसाधरणदेखि व्यवसायीसमेत ठगहरुको शिकार बनेका छन् । इमो, भाईवर, मेसेन्जर, इमेलजस्ता सामाजिक संजालमार्फत चिट्ठाको लोभ देखाएर ठगी गर्ने गिरोह नै सक्रिय छ । केही वर्षअघिसम्म छिटफुटरुपमा हुने यही प्रकृतिको ठगीका घट्ना पछिल्लो समय निकै बढेको छ ।
महानगरीय अपराध महाशाखामा अहिलेसम्म १९ जनाको गरी २८ लाख ३५ हजार रुपैयाँ ठगीमा परेको उजुरी परेको रेकर्डमा देखिन्छ ।
सिमकार्डमा दर्ता भएको नाममा तपाईंलाई चिट्ठा परेको भन्दै आफूअनुकूल बैंकमा खाता खोल्न लगाएर चिट्ठाको १ प्रतिशत रकम जम्मा गरिदिन भन्दै सर्वसाधारण ठगिने क्रम बढेपछि दूरसंचार सेवाप्रदायक नमस्ते र एनसेलले आफ्ना ग्राहकलाई सूचनामार्फत नै सचेत गराएका छन् ।