मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटनाः १० जनाको मृत्यु, ५ घाइते | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८३, बिहीबार

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटनाः १० जनाको मृत्यु, ५ घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीवार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट सर्लाहीतर्फ यात्रु बोकेर जाँदै गरेको उक्त सवारीसाधन अनियन्त्रित भई सडकबाट करिव ७०० मिटर तल खस्दा उक्त मानवीय क्षति भएको हो । बिहीवार बिहान करिव ६ः१० बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाडीमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा परी घाइते भएका ५ जनाको तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । घाइतेहरूमा ३ पुरुष र २ बालक रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल निकै अप्ठ्यारो र भिरालो भएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको भीमफेदीस्थित सुरक्षा बेसबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको छ । त्यस्तै, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले घाइतेहरूको उद्धार र मृतकहरूको शव संकलनको काम गरिरहेको छ ।
प्रारम्भिक विवरणअनुसार गाडी सडकबाट निकै तल खसेका कारण अधिकांश यात्रुको घटनास्थलमै मृत्यु भएको हो । हालसम्म दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन । प्रहरीले सवारीको तिब्र गति, प्राविधिक गडबडी वा सडकको अवस्थालाई केन्द्रित गरी अनुसन्धान अघि बढाएको जनाएको छ । घटनास्थलमा थप उद्धार कार्य जारी छ भने घाइतेहरूको अवस्थाबारे अस्पतालबाट थप विवरण आउन बाँकी छ ।

Leave a Reply

ताजा समाचार