भोटेकोशी विपद्पछि शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८३, बिहीबार

भोटेकोशी विपद्पछि शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो

काठमाडौँ ।

भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएकाहरूको पहिचानलाई व्यवस्थित बनाउन सरकारले पहिलोपटक विपद् पीडित पहिचान टोली (डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन–डीभीआई) गठन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भोटेकोशी विपद्पछि शव पहिचानमा त्रुटि हुन नदिन डीभीआई टोली गठन गरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको हो । उहाँकाअनुसार शवको पहिचानका लागि एन्टिमोर्टम र पोस्टमार्टम विवरण आवश्यक पर्ने भएकाले सम्बन्धित विवरण संकलन तथा विश्लेषणको काम भइरहेको छ । शव भेटिएको अवस्थादेखि शरीरमा रहेका ट्याटु, कपडा, अन्य पहिचान खुल्ने चिह्न र पोस्टमार्टमपछि प्राप्त विवरणलाई एकीकृत गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको उहाँले बताउनु भयो । डीएनए परीक्षणलाई थप विश्वसनीय बनाउन विदेशबाट आवश्यक उपकरणसमेत ल्याइएको उहाँको भनाइ छ ।

दाँतको नमुनाबाट डीएनए परीक्षण गर्दा पहिचान विश्वसनीय हुने भए पनि त्यसका लागि आवश्यक प्रविधि र उपकरणको अभाव रहेकोमा अहिले प्रयोगशालाको क्षमता विस्तार भइरहेको उहाँले जानकारी दिनुभयो । डा. उप्रेतीले भोटेकोशी विपद्ले नेपालको विपद् व्यवस्थापन प्रणालीमा नयाँ प्रविधि र विशेषज्ञताको आवश्यकता उजागर गरेको बताउनु भयो । विपद्का क्रममा ड्रोनबाट सामग्री ढुवानी तथा लिफ्टिङ गरिएको उल्लेख गर्दै उहाँले उद्धार र राहतका काममा प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनु भयो । उहाँले विपद् व्यवस्थापनलाई खोज तथा उद्धारमा मात्र सिमित नराखी शव पहिचान, पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणसम्म जोड्नुपर्ने बताउनु भयो । भोटेकोशीमा आएको बाढीको प्रकृति असाधारण रहेको उल्लेख गर्दै उहाँले बाढीपछिको पुनर्निर्माण भूकम्पपछिको पुनर्निर्माणभन्दा फरक र जटिल हुने बताउनु भयो । तिब्र गतिमा आएको बाढीले ठूला ढुङ्गा र गेग्रान बगाएर ल्याउँदा पूर्वाधारमा व्यापक क्षति पुगेकाले पुनर्निर्माणका लागि विशेष योजना आवश्यक रहेको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार