काठमाडौं ।
राष्ट्रिय सभाबाट गठित भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पौडेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहणसँगै समितिको पहिलो बैठक बिहीवार नै बसेको छ । बैठकका क्रममा बोल्दै समिति सभापति कृष्णप्रसाद पौडेलले सचिवालयको कार्यसम्पादन नै समितिको सफलताको आधार भएको बताउनु भयो । उहाँले सचिवालयलाई पूर्ण रूपमा चुस्त, दुरुस्त र स्फुर्त बनाउन आवश्यक स्रोत र साधनको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै कर्मचारीहरूलाई उच्च व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिनुभयो । समितिको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा सम्बोधन गर्दै सभापति पौडेलले नतिजा ल्याउने मुख्य जिम्मेवारी सचिवालयको काँधमा रहेको औंल्याउनु भयो । पौडेलले सचिव र सहसचिवसहितका प्रशासनिक नेतृत्वप्रति ठूलो आशा र भरोसा व्यक्त गर्नुभयो ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायत गोरखा, चितवन, नवलपुर जिल्लामा ठूलो क्षति भएको थियो । जोखिम न्युनिकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, शव व्यवस्थापन, पुनस्र्थापना लगायतको समीक्षा गर्नेगरी संयन्त्र बनाइएको थियो । समितिमा सांसदहरू कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनुभएको छ । प्रश्तावित समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म रहनेछ । यस्तै संसदीय विशेष समिति यसअघि नै प्रतिनिधि सभाले गठन गरिसकेको छ । प्रतिनिधि सभाले संसदीय विशेष समिति गठन गरेर अगाडि बढेसँगै राष्ट्रिय सभाले पनि संसदीय विशेष समिति बनाएको थियो ।





