नेपाली जुट उद्योगको अस्तित्व संकटमाः सांसद डाँगी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

नेपाली जुट उद्योगको अस्तित्व संकटमाः सांसद डाँगी

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा उहाँले जुट उद्योगको संरक्षणका लागि अविलम्ब कुटनीतिक पहल गर्न माग गर्नुभएको हो । सांसद डाँगीले सदनमा धारणा राख्दै भारतले नेपाली जुटमा वृद्धि गरेको ‘एन्टी डम्पिङ ड्युटी’ र जारी ‘काउन्टरभेलिङ ड्युटी इन्भेस्टिगेसन’ले स्वदेशी उद्योगहरूलाई प्रत्यक्ष असर पु¥याएको जिकिर गर्नुभयो । उद्योगहरू समस्यामा पर्दा हजारौँ मजदुरको रोजगारी गुम्ने र किसानले उत्पादन गरेका जुटले बजार नपाउँदा सडकमा फाल्नुपर्ने अवस्था आउने चेतावनी उहाँले दिनुभयो । यसले समग्र कृषिक्षेत्र र औद्योगिक उत्पादनमा गम्भीर असर पार्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकारले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने पहल गर्नु सकारात्मक छ, तर सञ्चालनमा रहेका उद्योगहरूलाई जोगाउन नसक्नु विडम्बनापूर्ण छ । सरकारले बन्द रहेका उद्योग खोल्ने नीतिमा मात्र सीमित नभएर, हाल सञ्चालनमा रहेका उद्योगहरूलाई टिकाउन सक्ने दिगो औद्योगिक नीति तर्जुमा गर्न आवश्यक छ ।’
सांसद डाँगीले औद्योगिक व्यवसाय ऐन, २०७६ को मर्मअनुरूप जुट उद्योगको पुनरुत्थान प्रक्रियालाई तिब्रता दिनुपर्नेमा जोड दिनुभयो । नेपाली जुटजन्य उत्पादनले भारतीय बजारमा सहजरूपमा प्रवेश पाउनुपर्ने र यसका लागि आवश्यक कुटनीतिक तथा वाणिज्यिक वार्तालाई तिब्रता दिनुपर्ने आवश्यकता सांसद डाँगीले औँल्याउनु भयो ।

Leave a Reply