काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले चिया मजदुरका लागि सरकारले तोकेको ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले चिया मजदुरका हकहितका लागि सरकारले निर्धारण गरेका मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालको पहिलो नवग्राम मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको बताउनु भयो । उहाँले नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘चिया मजदुरहरुको सरकारको मापदण्डअनुरुप ज्याला, सेवा, सामाजिक सुरक्षा कोषमा आवद्धताको विषयलाई कडाईका साथ कार्यान्वयन होस् भनेर अनुरोध गर्न चाहान्छु । अर्को, स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकामा पहिलो नवग्राम मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ । नेपालको पहिलो नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास, प्रवद्र्धन तथा धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउन आवश्यक बजेट र थप प्रचारप्रसार आवश्यक रहेकोले यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
धार्मिक पर्यटनको प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउन मन्दिरको प्रचारप्रसारमा समेत सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।




