काठमाडौँ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रका लगानीकर्ताको मनोबल बढाउन सरकारले भोटेकोशी–त्रिशूली करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाढीले क्षति पुगेका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनाका लगानीकर्तारुलाई प्रोत्साहन गर्न भन्सार छुट तथा सहुलियतसहित प्याकेज ल्याउनुपर्ने बताउनु भयो । उहाँले अगामी दिनमा सुरुङ तथा पावरहाउसहरुमा सुरक्षाको विषयलाई पनि गम्भीर रुपमा हेर्नुपर्ने बताउनु भयो ।
उहाँले विपद्को समयमा कर्मचारीहरु सुरुङ तथा पावरहाउसबाट सजिलै निस्कन मिल्नेगरी आपतकालीन निकासद्वार समेत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बाढीपछिको प्रतिकार्यमा उर्जा मन्त्रालयको भुमिकामाथि पनि प्रश्न उठाउनु भयो । ऊर्जा मन्त्रालयले आफ्नो नेतृत्वदायी भुमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको महसुस भएको उहाँको भनाइ छ । जलविद्युत् आयोजनाको उद्धार लगायतका काममा मन्त्रालयले अपेक्षित रूपमा पहल गर्न घिसिङ बताउनु भयो । उहाँले जलविद्युतको आयोजना तथा उर्जा क्षेत्रको विस्तार र विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।




