काठमाडौँ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताउनुभएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपद्का कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताउनुभएको हो । उहाँले हजारौं वा पाँच हजार वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताउनु भयो ।
यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गए आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ । यद्यपि जलविद्युत आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई बेवास्ता गर्न नहुनेमा उहाँले जोड दिनुभयो । सामान्य क्लाउडआउटबस्र्ट, ठूलो बाढी तथा फ्ल्यास फ्लडजस्ता सम्भावित प्राकृतिक विपद्बाट आयोजना सुरक्षित रहने गरी आवश्यक सुरक्षा मापदण्ड र पर्याप्त ‘सेफ्टी मार्जिन’ राखेर आयोजना निर्माण गर्नुपर्ने उहाँले बताउनु भयो । असाधारण प्राकृतिक घटनालाई लिएर लगानी निरुत्साहित गर्नेभन्दा सम्भावित जोखिमको वैज्ञानिक मूल्यांकन गर्दै सुरक्षित र व्यवहारिक ढङ्गले जलविद्युत आयोजना विकास गर्नुपर्ने घिसिङको भनाइ छ ।




