काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न संकट समाधान तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत र उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरिरहेका छन् ।प्रधानमन्त्री शाहले सोमबार प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी तथा उद्धार कार्य, राहत वितरण र घाइतेहरूको व्यवस्थापनलगायत विषयमा विस्तृत जानकारी लिएका छन् ।रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा बाँकी रहेका उद्धारका कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।
प्रभावित नागरिकको जीवनरक्षा तथा उद्धार कार्यमा आवश्यक सबै स्रोत–साधन परिचालन गर्नसमेत उनले जोड दिएका छन् ।प्रधानमन्त्री शाहले सोमबार नै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा सुरक्षा व्यवस्थापनबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ । यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि बाढीपछिको अवस्था र सुरक्षा परिचालनबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, घाइतेहरूको निःशुल्क उपचार तथा राहत वितरणमा कुनै पनि कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
उहाँले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सबै सुरक्षा निकायलाई २४ घण्टा उच्च सतर्कताका साथ परिचालन गर्न र उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।भोटेकोशीमा आएको बाढीबाट रसुवालगायत प्रभावित क्षेत्रमा जनजीवन प्रभावित भएपछि सरकारले खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्राथमिकतामा राखेको छ । संकटको अवस्थामा सरकारका विभिन्न निकायबीच प्रभावकारी समन्वय गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिने प्रयास भइरहेको छ ।




