उत्तर–पश्चिमी कम्बोडियाको गाउँ नजिकै दुर्लभ जंगली हात्तीको बथान फेला | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ४ २०८३, बुधवार

उत्तर–पश्चिमी कम्बोडियाको गाउँ नजिकै दुर्लभ जंगली हात्तीको बथान फेला

काठमाडौं । उत्तर–पश्चिमी कम्बोडियाको प्रिएह विहियर प्रान्तस्थित एक गाउँ नजिकै एउटा छावासहित ६ वटा दुर्लभ जंगली एसियाली हात्तीको बथान फेला परेको छ । कम्बोडियाको वातावरण मन्त्रालयले यसको पुष्टि गरेको हो । वातावरण मन्त्रालयका उप–राज्यमन्त्री एवं प्रवक्ता ख्वे अतित्यकाअनुसार यी दुर्लभ स्तनधारी जनावरहरू गत अगस्ट १२ देखि त्बेङ मेन्चे जिल्लाको छेब–प्रिएह रोका वन्यजन्तु आरक्ष क्षेत्रभित्रको वनमा विचरण गरिरहेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले एसियाली हात्तीलाई आफ्नो रातो सूचीमा ‘लोपोन्मुख’ प्रजातिका रूपमा सूचीकृत गरेको छ । प्रवक्ता अतित्यको जानकारीअनुसार मन्त्रालयको टोलीले स्थलगत सर्वेक्षण गर्नुका साथै ड्रोन प्रयोग गरेर उक्त बथानको निगरानी गरिरहेको छ । हाल हात्तीको यो समूह गाउँभन्दा करिव ३ किलोमिटर टाढा रहेको छ ।
हात्तीहरूको सुरक्षालाई मध्यनजर गर्दै संरक्षणकर्मीहरूले स्थानीय बासिन्दाहरूलाई हात्ती संरक्षणका विषयमा सचेतना प्रदान गरेका छन् । स्थानीयहरूलाई हात्तीको शिकार नगर्न र द्वन्द्वका सम्भावित परिस्थितिहरूलाई न्युनिकरण गर्न आग्रह गरिएको छ । अतित्यले जंगली हात्तीहरूको उपस्थितिले स्थानीय स्तरमा भइरहेको वन तथा बासस्थान संरक्षणका प्रयासहरू प्रभावकारी रहेको संकेत गर्ने र यसले संरक्षणवादीहरूमा उत्साह जगाएको उल्लेख गरे ।
मन्त्रालयको तथ्याङ्कअनुसार छेब–प्रिएह रोका वन्यजन्तु आरक्षभित्र १५ देखि २० वटा जंगली हात्तीहरू बसोबास गर्दछन् । वातावरण मन्त्रालय र यसका साझेदार संस्थाहरूले गरेको अनुसन्धान अनुसार कम्बोडियाका संरक्षित क्षेत्रहरूमा हाल करिव ४०० देखि ६०० सम्म एशियाली हात्तीहरू रहेको अनुमान गरिएको छ ।

Leave a Reply

ताजा समाचार