मध्य एशियाली मुलुक र अजरबैजानबीच क्षेत्रीय सहयोग सुदृढ बनाउने सहमति | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

मध्य एशियाली मुलुक र अजरबैजानबीच क्षेत्रीय सहयोग सुदृढ बनाउने सहमति

मध्य एशियाली मुलुकहरू र अजरबैजानका राष्ट्रप्रमुखहरूले क्षेत्रीय सहयोगलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । किर्गिस्तानको पर्यटकीय सहर चोल्पोन–आटामा शुक्रवार सम्पन्न नेताहरूको अनौपचारिक बैठकले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । मध्य एशिया र अजरबैजानका राष्ट्रप्रमुखहरूको परामर्शदात्री बैठक’ लाई सम्बोधन गर्दै किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभले पछिल्ला वर्षहरूमा क्षेत्रीय सहयोगले नयाँ उचाई लिएको बताउनु भयो । सीमा विवाद समाधानका लागि भएका ऐतिहासिक सम्झौता र बढ्दो आपसी विश्वासले सहकार्यको वातावरण तय गरेको उहाँको भनाइ थियो । राष्ट्रपति जापारोभले अन्तर्राष्ट्रिय मञ्चहरूमा मध्य एशियाको साझा हित प्रवद्र्धन गर्न किर्गिस्तान निरन्तर प्रतिवद्ध रहने स्पष्ट पार्नुभयो ।
बैठकमा उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले क्षेत्रीय अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न अन्तरसरकारी संगठनहरू र सेन्ट्रल एशिया प्लस ढाँचाअन्तर्गत समन्वय बढाउन आह्वान गर्नुभयो । उहाँले व्यापार र यातायात सञ्जालको सुदृढीकरण, औद्योगिक तथा प्राविधिक श्रृङ्खलाको विस्तार, साझा डिजिटल सेवाको विकास र लगानी प्लेटफर्मको सुरुवात जस्ता विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, ताजकिस्तानका राष्ट्रपति इमोमाली रहमोनले मध्य एशियाप्रति बढ्दो अन्तर्राष्ट्रिय चासोले व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण र प्रविधि हस्तान्तरणका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्नुभयो । उहाँले यातायात कोरिडोर, ऊर्जा, उद्योग, डिजिटलाइजेशन र खाद्य सुरक्षालाई यस क्षेत्रको साझा प्राथमिकताका रूपमा व्याख्या गर्नुभयो ।
अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले आफ्नो देशको परराष्ट्र नीतिमा मध्य एशियाली मुलुकहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भयो । यस क्षेत्रका देश र जनतालाई थप निकट ल्याउन तथा बहुपक्षीय सहयोग अभिवृद्धि गर्न अजरबैजानले हरसम्भव प्रयास गर्ने उहाँको भनाइ थियो ।
बैठकको समापनमा चोल्पोन–आटा घोषणापत्र जारी गरिएको छ । उक्त घोषणापत्रले मध्य एसियाली मुलुकहरू र अजरबैजानबीचको उच्च स्तरको आपसी विश्वासका साथै शान्ति, असल छिमेकी सम्बन्ध र दिगो विकासप्रतिको साझा प्रतिवद्धतालाई प्रतिबिम्बित गरेको राष्ट्रपति जापारोभले जानकारी दिनुभयो ।

Leave a Reply