काठमाडौँ ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको हो । सिंहदरबारस्थित परिषद्को सचिवालयमा बसेको उक्त बैठकले देशको समग्र सुरक्षा अवस्थाको विस्तृत समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका साथै गत साउन १० गते सुनसरीमा भएको घटनाका सम्बन्धमा गहिरो छलफल भएको थियो। राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था क्रमशः सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ बैठकमा गरिएको थियो ।
भविष्यमा यस प्रकारका घटनाहरू दोहोरिन नदिन सुरक्षा निकाय र संवद्ध पक्षहरूबीच निरन्तर संवाद र समन्वय कायम गरिने निर्णय भएको छ । सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई प्रवद्र्धन गर्ने गरी कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशित गरिएको छ । बैठकले प्राकृतिक विपद्का घटनाहरूमा खोज, उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरोकारवाला निकायहरूबीचको समन्वयलाई सुदृढ तुल्याउने निर्णय समेत गरेको छ । बैठकमा प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र साह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की र प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थिति रहेको थियो ।





