काठमाडौं ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको छ । मङ्गलवार विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव बेचबिखनको स्वरूप बदलिएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना र राजनीतिक सुशासनको आवश्यक रहेको बताउनुभएको हो । आचार्यले विगत लामो समयदेखि आफूहरू कलाका माध्यमबाट मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय रहेको स्मरण गराउनु भयो । उहाँले ‘रातु’, ‘छोरी’ र ‘टीकेको तीन मन्तर’ जस्ता टेलिचलचित्र तथा विभिन्न गीतमार्फत सचेतना फैलाउँदै आएको जानकारी दिँदै हालको परिस्थिति झन् चुनौतीपूर्ण बनेको बताउनु भयो ।
उहाँले प्रविधिको विकाससँगै मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले मानव तस्करहरूलाई थप सहज बनाएको र सर्वसाधारणलाई प्रलोभनमा पार्न सजिलो भएको उल्लेख गर्नुभयो । मुलुकको राजनीतिक अस्थिरता र बेरोजगारीका कारण युवाहरूमा विदेशिने मोह बढ्नु र त्यसैको फाइदा उठाउँदै तस्करहरूले सपना बाँड्नु दुःखद् भएको उहाँको ठम्याइ छ । कलाकार आचार्यले नक्कली भूटानी शरणार्थी प्रकरण जस्ता घटनालाई लक्षित गर्दै राजनीतिक नेतृत्वकै संलग्नतामा मान्छे बेचिनु अनैतिकताको पराकाष्ठा भएको टिप्पणी गर्नुभयो । उहाँले नयाँ राजनीतिक संस्कार र सोचका साथ अघि बढे मात्र यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । आफ्नो सामाजिक उत्तरदायित्वबाट कहिल्यै पछि नहट्ने प्रतिवद्धता जनाउँदै आचार्यले अडियो–भिजुअल माध्यमबाट आगामी दिनमा पनि सचेतनाका कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनु भयो । केही नकारात्मक तत्वहरूले कलाकारका सामाजिक कार्यलाई लिएर अनर्गल प्रचार गर्ने गरेको प्रति दुःख व्यक्त गर्दै उहाँले साइबर अपराध नियन्त्रणमा नेपाल प्रहरीले थप प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिनुभयो ।




