काठमाडौं । वर्षौंदेखि दुर्गमताको पर्याय बनेको सिन्धुलीको घ्याङलेख गाउँपालिका अहिले विकासको नयाँ यात्रामा अघि बढेको छ ।
पिपलडाँडा–हायूटार–रामपुर सडक कालोपत्रे भएसँगै स्थानीयवासीको जीवनशैलीमा परिवर्तन आएको छ । सहज यातायातको पहुँचले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र पर्यटनका सम्भावनालाई नयाँ उचाई दिएको छ । विगतका समयमा यहाँ नुनदेखि सुनसम्मका सामान पिठ्युँमा बोकेर गाउँ पु¥याउनुपर्ने बाध्यता थियो । वर्षायाम लागेपछि सडक अवरुद्ध हुँदा गाउँ र सदरमुकामबीचको सम्पर्क नै टुट्ने अवस्था रहन्थ्यो । विशेषगरी बीपी राजमार्गबाट घ्याङलेख गाउँपालिका भवनसम्म जोड्ने मुख्य सडक नै कच्ची, साँघुरो र अत्यन्तै दुर्गम भएकाले गाउँपालिका पुग्न स्थानीयले निकै सास्ती व्यहोर्नुपथ्र्यो । सेवाग्राही, कर्मचारी तथा जनप्रतिनिधिसमेत वर्षायाममा आवतजावत गर्न कठिनाइमा पर्ने गर्दथे । तर अहिले कालोपत्रे सडकले त्यो कठिन विगतलाई इतिहासमा परिणत गरिदिएको छ । घ्याङलेख गाउँपालिका–२ का ७८ वर्षीय विन्द्रे स्याङ्तान सडकले गाउँको मुहार फेरिदिएको बताउनुहुन्छ । युवावस्थामा दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर गाउँ–शहर धाउनुपरेको सम्झँदै उहाँ अहिले सवारी साधन गाउँमै पुग्दा जीवन निकै सहज बनेको सुनाउनु हुन्छ । उहाँकाअनुसार सडकले केवल यात्रा छोट्याएको छैन, गाउँलेको भविष्य पनि उज्यालो बनाएको छ ।
वागमती प्रदेश सरकारले प्रदेशभित्रका २५० वटा सडकलाई प्रादेशिक लोकमार्ग र प्रादेशिक मार्गका रूपमा वर्गीकरण गरी निर्माण तथा विस्तार प्रक्रियालाई तिब्रता दिएको छ । कूल ६ हजार ३ सय ५० किलोमिटर लम्बाई रहेका यी सडकहरूलाई प्रदेश सरकारको मुख्य कार्यक्षेत्रभित्र राखी प्राथमिकताका साथ काम अघि बढाइएको हो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाकाअनुसार प्रदेश सरकारले विशेषगरी स्थानीय तहका केन्द्र जोड्ने, एक प्रादेशिक राजमार्गबाट अर्कोलाई जोड्ने र राष्ट्रिय राजमार्गबाट प्रदेशका मुख्य क्षेत्र जोड्ने उच्च सवारी चाप भएका सडकहरूलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकार स्थापना भएयता सडक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको मन्त्रालयको दाबी छ । प्रदेशका १ सय १९ स्थानीय तहमध्ये अब ३० वटा स्थानीय तहका केन्द्र मात्र पक्की सडकले जोडिन बाँकी छन् । यी केन्द्रहरूलाई जोड्न अब केवल ३०५ किलोमिटर सडक र ९ वटा पुल निर्माण गर्न बाँकी रहेको र यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको सचिव मरहट्टाले जानकारी दिनुभयो । यद्यपि, सडक निर्माणले मात्र नागरिकको जीवनस्तरमा ठोस परिवर्तन नआएको अध्ययनले देखाएपछि प्रदेश सरकारले आफ्नो नीतिमा परिमार्जन गरेको छ ।
उहाँले भन्नुभयो, ‘सडक निर्माण भए पनि जनताको जीविकोपार्जनमा सुधार आएको वा उद्यमशीलतामा आकर्षण बढेको देखिएन । त्यसैले अब सडक निर्माणसँगै उद्यमशीलतालाई पनि सँगै लैजाने नीतिगत व्यवस्था गरी यस वर्ष बजेट विनियोजन गरिएको छ ।’
मन्त्रालयकाअनुसार सिन्धुलीको घ्याङलेख, सिन्धुपाल्चोकको पाँचपोखरी, धादिङको रुबी भ्याली र मकवानपुरको राक्सिराङ गाउँपालिकालाई विशेष प्राथमिकतामा राखी काम भइरहेको छ । यी क्षेत्रमा स्थानीय तहको केन्द्रदेखि वडासम्मको सडक सञ्जाल विस्तार गर्ने र सडकलाई प्रत्यक्ष रूपमा जनताको जीविकोपार्जन र उद्यमशीलतासँग जोड्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।
जिल्लाको सडक पूर्वाधार विकासमा मुख्य मार्गहरूको स्तरोन्नति र विस्तारलाई आफूले पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष जगतबहादुर भ्लोनले बताउनु भयो । जिल्लाको विकास रणनीतिका बारेमा चर्चा गर्दै प्रमुख सापकोटाले गाउँका भित्री सडकहरूभन्दा पनि रणनीतिक महत्वका मुख्य सडकहरूलाई पूर्णता दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो । विशेषगरी रामपुरदेखि कक्लिङसम्मको सडक खण्डलाई कालोपत्रे गर्ने लक्ष्यका साथ हाल नापजाँचको कार्य अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । स्थानीयस्तरबाट शाखा सडक निर्माणका लागि दबाब र माग हुने गरे पनि दिगो विकासका लागि मुख्य सडकलाई जिल्लाको एक छेउदेखि अर्को छेउसम्म जोड्नुपर्ने उहाँको तर्क छ । यस पूर्वाधार निर्माणको प्रक्रियामा भौतिक पूर्वाधार मन्त्रालय र संवद्ध मन्त्रीहरूबाट पूर्ण सहयोग र समन्वय प्राप्त भइरहेको समेत प्रमुख सापकोटाले स्पष्ट पार्नुभयो । मुख्य सडकको सहज पहुँचले नै समग्र जिल्लाको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने विश्वास कार्यालयले लिएको छ ।
पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाले वागमती प्रदेश सरकारले गाउँपालिकाका केन्द्रहरूलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई विशेष प्राथमिकता दिँदै पूर्वाधार विकासका कार्यक्रमहरू अगाडि बढाएको बताउनु भयो । सिन्धुली जिल्लाका दुर्गम मानिने गाउँपालिकाका केन्द्रसम्म पक्की सडक पु¥याउने लक्ष्यका साथ निर्माण कार्य तिब्र पारिएको छ । सापकोटाकाअनुसार प्रादेशिक सडक यातायात गुरुयोजना अन्तर्गत वागमती प्रदेश सरकारले स्वीकृत गरेको ३७ किलोमिटर लामो ‘पिपलभञ्ज्याङ–हायुटर–रामपुर सडक’ को निर्माण कार्य विभिन्न चरणमा अघि बढेको छ । उक्त गुरुयोजना अन्तर्गतको १२.८ किलोमिटर लामो पिपलभञ्ज्याङ–सिम्ले सडकखण्ड यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । हाल उक्त सडकमा कार्यालयको बजेटमार्फत सडक हेरालु परिचालन गरी नियमित तथा आकस्मिक मर्मतसम्भार भइरहेको र आगामी आर्थिक वर्षका लागि आवधिक मर्मतको बजेट समेत विनियोजन गरिएको कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो । सोही सडक खण्डमा पर्ने हाँडीखोला पक्की पुलको हाल बोलपत्र मूल्याङ्कन भइरहेको र सम्झौता हुन बाँकी रहेको जनाइएको छ ।
घ्याङ्लेख गाउँपालिकाको केन्द्र हायुटरसम्मको सडक पहुँचका लागि सिम्लेखोलादेखि हायुटर सम्मको १०.२ किलोमिटर सडक खण्डको २०८० सालमा ठेक्का सम्झौता भएको थियो । उक्त सडकलाई अस्फाल्ट कंक्रिट स्तरमा स्तरोन्नति गर्ने कार्य तोकिएको अढाई वर्षको समयसीमा भित्रै सम्पन्न भएको छ । यस्तै, गाउँपालिका केन्द्र हायुटरदेखि सोलाभञ्ज्याङ सम्मको ६.३ किलोमिटर सडकको निर्माण कार्य पनि २०८१ सालमा सम्झौता भई २०८२ सालको समयसीमाभित्र सम्पन्न भइसकेको छ । सोही खण्डमा पर्ने ४० मिटर लामो ‘प्रि–स्ट्रेस’ प्रविधिको ठाडीखोला पक्की पुलको निर्माण कार्य पनि एक वर्षको निर्धारित समयभित्रै सम्पन्न भएको छ ।
यसैगरी, तीनपाटन गाउँपालिकाको केन्द्र जोड्ने ३६ किलोमिटर सडकको पनि क्रमशः ठेक्का व्यवस्थापन भई काम अगाडि बढिरहेको छ । अन्य पूर्वाधार निर्माणतर्फ मरिन खोला पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य भइरहेको छ भने सोलाभञ्ज्याङदेखि तामाजोर खोला पुलसम्मको सडक खण्ड हाल ठेक्का आह्वान भई मूल्याङ्कनको चरणमा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
श्री माध्यमिक विद्यालयका शिक्षक मिलन रानामगर २०७१ साल साउन २७ गते नियुक्ति भएपछि भदौ २ गते पहिलोपटक विद्यालय जानुभएको थियो । त्यस समयमा सडकको ट्रयाक भर्खरै खुलेको र यातायातको सुविधा अत्यन्तै न्युन रहेको उहाँ स्मरण गर्नुहुन्छ । ‘पिपल’ क्षेत्रभन्दा अगाडि सवारी साधन नचल्ने भएकाले हातमा झोला बोकेर, पहिरो छिचोल्दै पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । सिमलेको तेर्सो क्षेत्रमा गएको पहिरो र हिलो छिचोल्दै दिउँसो ३ बजे मात्र विद्यालय पुगेर हाजिर भएको अनुभव उहाँले सुनाउनु भयो ।
त्यस समयमा पुलहरूको अभाव र वर्षायाममा खोलाको बहाव बढी हुँदा यात्रा झनै चुनौतीपूर्ण हुने गरेको थियो । सडकको दुरावस्थाका कारण कतिपय अवस्थामा गन्तव्यसम्म पुग्न नसकेर बीच बाटोमै बास बस्नुपर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नुभयो । तत्कालीन समयमा कच्ची सडकमा केही बोलेरो गाडीहरू मात्र जोखिमपूर्ण रूपमा सञ्चालन हुने गर्दथे । तर हाल उक्त क्षेत्रको यातायात व्यवस्थामा व्यापक सुधार आएको छ । सडकको स्तरोन्नतिसँगै अहिले यात्रा सहज र सुगम बनेको छ । समयमै सवारी साधन उपलब्ध हुने भएकाले आकस्मिक अवस्थामा बिरामीहरूलाई तत्काल अस्पताल पु¥याउन समेत सहज भएको रानामगरले बताउनु भयो । दशकअघिको तुलनामा भौतिक पूर्वाधारमा भएको यो परिवर्तनले स्थानीय बासिन्दा र कर्मचारीहरूको दैनिकीमा ठूलो राहत पुगेको उहाँको भनाइ छ ।
सडक सञ्चालनमा आएपछि स्थानीय उत्पादनले सहज रूपमा बजार पाउन थालेको छ । गाउँमा उत्पादन हुने तरकारी, फलफूल तथा अन्य कृषि उपज केही घण्टामै सिन्धुली, बनेपा, काठमाडौंसम्म पुग्न थालेका छन् । ढुवानी लागत घटेपछि किसानको आम्दानी बढेको छ भने व्यावसायिक कृषि र पशुपालनप्रति आकर्षण पनि उल्लेखनीय रूपमा वृद्धि भएको स्थानीय बताउँछन् । गाउँपालिका र हेफर इन्टरनेसनलको सहयोगमा स्थानीयहरू व्यावसायिक बाख्रापालन तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सडकले बजारसँगको पहुँच बढाएपछि जीविकोपार्जनमुखी कृषि आयआर्जनमुखी व्यवसायमा रूपान्तरण हुन थालेको छ ।
सडकको पहुँचले शिक्षामा समेत सकारात्मक प्रभाव पारेको छ । विगतमा वर्षायाममा विद्यालय पुग्न कठिनाइ भोग्ने शिक्षक र विद्यार्थी अहिले नियमित रूपमा विद्यालय आउजाउ गर्न थालेका छन् । स्वास्थ्य सेवा लिन पनि स्थानीयले लामो सास्ती व्यहोर्नुपर्ने अवस्था हट्दै गएको छ । गाउँपालिका भवनसम्म सहज पहुँच भएपछि प्रशासनिक सेवा लिन आउने स्थानीयलाई ठूलो राहत पुगेको छ । यो परिवर्तन वागमती प्रदेश सरकारको पूर्वाधार विकास नीतिको उपज हो । राज्य पुनर्संरचनापछि प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका १ सय १९ स्थानीय तहलाई पालिका केन्द्रबाट राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकामसँग सहज रूपमा जोड्ने लक्ष्यसहित प्रदेश सडक गुरुयोजना कार्यान्वयनमा ल्याएको थियो । प्रदेश सार्वजनिक सडक ऐन, २०७८ बमोजिम वर्गीकरण गरिएका प्रदेश लोकमार्ग र प्रदेश मार्गअन्तर्गत पिपलडाँडा–हायूटार–रामपुर सडक पनि प्राथमिकतामा परेको आयोजना हो ।
घ्याङलेख गाउँपालिकाका पाँचवटै वडालाई जोड्ने यस सडकको कुल लम्बाई ३७ किलोमिटर रहेको छ । हालसम्म २९.३ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न भइसकेको छ भने पाँचमध्ये तीन वटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् ।
पूर्वाधार विकास कार्यालय, सिन्धुलीकाअनुसार पहिलो चरणमा पूर्वाधार विकास कार्यालय रामेछापबाट हस्तान्तरण भएको पिपलडाँडादेखि सिम्लेखोलासम्मको १२.८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । निर्माण सम्पन्न भइसकेपछि यस सडकको नियमित मर्मतसम्भार पूर्वाधार विकास कार्यालय सिन्धुलीले गर्दै आएको छ । यस आर्थिक वर्षका लागि पनि सडक मर्मतको बजेट विनियोजन गरिएको छ । यसै चरणमा भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत सिम्लेखोलामा करिव २० मिटर लामो पुल निर्माण भएपछि वर्षायाममा स्थानीयले भोग्दै आएको जोखिम अन्त्य भएको छ ।
दोस्रो चरणमा सिम्लेखोलादेखि हायूटारसम्मको १०.२ किलोमिटर सडक अस्फाल्ट कालोपत्रे गर्न विसं. २०८० असार १९ गते करिव २४ करोड ८८ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो । उक्त सडक २०८२ पुस २८ गते सम्पन्न भएको हो । त्यस्तै हायूटार–सोलाभञ्ज्याङ खण्डको ६.३ किलोमिटर सडक कालोपत्रेका लागि विसं. २०८१ जेठ १४ गते करिव १० करोड ८० लाख रुपैयाँ लागतमा सम्झौता भई २०८२ कार्तिक २८ गते निर्माण सम्पन्न भएको थियो ।
यसै चरणमा घ्याङलेख गाउँपालिका–२ मा पर्ने ठाडीखोलामा ४० मिटर लामो पुल करिव ५ करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको छ । २०८१ जेठ १४ गते शुरु भएको निर्माण कार्य २०८२ जेठ १३ गते सम्पन्न भएको हो । त्यस्तै घ्याङलेख गाउँपालिका–३ मा पर्ने तामाजोर खोलामा ४० मिटर लामो पुल करिव ५ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको छ ।
यसरी करिव ४६ करोड ९८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दोस्रो चरणअन्तर्गत १६.५ किलोमिटर कालोपत्रे सडक तथा तामाजोर र ठाडीखोला पुलको उद्घाटन वागमती प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले गर्नुभएको थियो ।
यद्यपि योजना अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन । पिपलडाँडा–रामपुर सडकअन्तर्गत करिब ७.७ किलोमिटर सडक स्तरोन्नति हुन बाँकी छ । साथै सिम्लेखोला–हायूटार खण्डमा पर्ने हाडी खोलामा वर्षायाममा आवतजावत अझै जोखिमपूर्ण हुने भएकाले त्यहाँ २० मिटर लामो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय सिन्धुलीले ठेक्का प्रक्रिया अघि बढाइसकेको छ । हायूटार–सोलाभञ्ज्याङ खण्डमा पर्ने मरिण खोलामा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने बहुवर्षीय योजनाका रूपमा प्रश्ताव गरिने तयारी छ ।
त्यस्तै सोलाभञ्ज्याङदेखि तामाजोर पुल खण्डमा बजेट विनियोजन भई बोलपत्र मूल्याङ्कनको चरणमा रहेको छ भने तामाजोरदेखि रामपुरसम्मको बाँकी सडक स्तरोन्नतिका लागि यस आर्थिक वर्षमा ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सडकसँगै घ्याङलेखमा पर्यटनका सम्भावना पनि विस्तार हुन थालेका छन् । बुरा बराजु मन्दिर, हापाचुली डाँडा तथा निर्माणाधीन बौद्ध विश्वविद्यालयजस्ता गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउन गाउँमा होमस्टे तथा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन भइरहेका छन् । स्थानीयकाअनुसार सडकले बजार मात्र जोडेको छैन, घ्याङलेखको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई चिनाउने अवसर सिर्जना गरेको छ । –
‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
ताजा समाचार
हेटौंडाको थानाभर्याङमा एक पुरुष मृत फेला
७ मिनेट अघि




