काठमाडौं ।
पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तिब्रता दिएको छ । महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै पूर्ण समर्थन जनाएका छन् । सहभागीहरूले पोखरा बसपार्क, फिर्के खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताए । उनीहरूले बसपार्कका लागि अधिग्रहण गरिएको १८७ रोपनी जग्गामै बसपार्क निर्माण गरिनुपर्ने र फिर्के खोलाको सीमा यकिन भइसकेकाले तत्काल ‘फिर्के कोरिडोर’ निर्माण शुरु गर्न सुझाव दिएका छन् ।
महानगरले हालै मात्र ती क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना हटाएको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुनैपनि बहानामा सार्वजनिक जग्गा मिच्ने कार्य स्वीकार्य नभएको र यो अभियान निरन्तर जारी रहने उहाँले बताउनु भयो । उहाँले महानगरभित्र रहेको सार्वजनिक जग्गाको एकीकृत लगत संकलन भइरहेको र केही समयभित्रै त्यसको विवरण सार्वजनिक गरिने जानकारी दिनुभयो । प्रारम्भिक अनुमानअनुसार पोखरामा वन क्षेत्रसहित झन्डै ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको छ ।
उक्त जग्गाको यकिन लगत तयार भएपछि कसैले अतिक्रमण गरेको पाइएमा तत्काल खाली गर्न सूचित गरिने र अटेर गरेमा महानगरले कानुनी प्रक्रियाअनुसार आफैँ अतिक्रमण हटाउने आचार्यले स्पष्ट पार्नुभयो । महानगरले ३३ वटै वडामा खेलमैदान र उद्यान (पार्क) निर्माण गर्ने योजना अघि सारेको छ । बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूको उचित व्यवस्थापन भएपछि मात्र व्यवस्थित बसपार्क निर्माणको काम शुरु हुने प्रमुख आचार्यको भनाइ छ ।पोखरा–१ स्थित टुँडीखेलको जग्गा यकिन गर्ने कार्य पनि छिट्टै थालिने महानगरले जनाएको छ । सडक, राजकुलो, चौर र अन्य सार्वजनिक स्थल अतिक्रमण गर्नु कानून विपरित हुने भन्दै कसैले त्यस्तो जग्गामा निजी संरचना वा व्यवसाय सञ्चालन गरेको भए आफैँ खाली गर्न महानगरले आह्वान गरेको छ । सार्वजनिक सुनुवाइमा स्थानीयले महानगरको सेवा प्रवाह र विकास निर्माणका विविध पक्षमा समेत जिज्ञासा राखेका थिए ।




