काँकडभिट्टा–लौकही सडक विस्तारमा विद्युतीय पोल वाधक: २९ महिनादेखि हटेन अवरोध | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८३, शुक्रबार

काँकडभिट्टा–लौकही सडक विस्तारमा विद्युतीय पोल वाधक: २९ महिनादेखि हटेन अवरोध

काठमाडौं ।

एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माणाधीन काकडभिट्टा–लौकही सडक विस्तार आयोजनामा विद्युतीय पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको छ । ठेक्का सम्झौता भई काम शुरु भएको २९ महिना बितिसक्दा पनि सडक क्षेत्रमा रहेका पोलहरू नहटाइँदा आयोजनाले लक्ष्यअनुसार भौतिक प्रगति हासिल हुन नसकेको हो । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) ले सन् २०२४ फेब्रुअरी १ मा ठेक्का सम्झौता गरी यस आयोजनाको निर्माण कार्य अघि बढाएको थियो । चिनियाँ निर्माण कम्पनी सीआरएफजी र नेपाली कम्पनी टुण्डी जेभीले संयुक्त रूपमा निर्माण गरिरहेको यस सडकको हालसम्मको समग्र भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ । कुल ४० किलोमिटर लम्बाई रहेको यस खण्डमा हालसम्म एकतर्फी १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । निर्माण कम्पनीका प्रतिनिधि डोरमणि पौडेलकाअनुसार ग्रामिण तथा वन क्षेत्रमा काम गर्न समस्या नभए पनि बजार क्षेत्रमा विद्युतीय पोलका कारण अवरोध सिर्जना भएको छ । विशेषगरी दोस्रो खण्ड अन्तर्गत झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको क्षेत्रमा काम गर्न निकै असहज भएको उहाँले बताउनु भयो ।

सकेसम्म छिटो गराँै भनेर शुरु गर्दा पनि दुई वर्षसम्म पोल नसारिएकाले काम गर्न धेरै कठिन रहेको बताउनु भयो । काकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख जगत प्रजापतीले सडक निर्माण शुरु हुनुभन्दा एक वर्ष अगावै नेपाल विद्युत प्राधिकरणलाई पोल सार्नका लागि आवश्यक रकम भुक्तानी गरिसकिएको जानकारी दिनुभयो । ठेक्का लाग्नु भन्दा एक वर्षअघिबाटै विद्युत प्राधिकरणसँग स्म्झौता गरेको भएपनि पोल सार्ने काम पूरा नभएको बताउनु भयो । यसले जोखिम बढाएको भन्दै आपत्ति जनाउनु भयो । २ नम्बर प्याकजेमा अझै ३० प्रतिशत बढी पोलहरु हटाउन बाँकी रहेको बताउनु भयो । असारसम्म पोल हटाइसक्नुपर्ने भनेपनि नहटाइएको उहाँको गुनासो  । विद्युत प्राधिकरणले असार मसान्तसम्म पोल सार्ने कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाए पनि हालसम्म ३० प्रतिशतभन्दा बढी पोल सार्न बाँकी रहेको आयोजनाले जनाएको छ । पोल स्थानान्तरण नभएकै कारण झापाको दमक तथा मोरङको पथरी र मंगलबारे बजार क्षेत्रमा सडक निर्माणले गति लिन नसक्दा स्थानीयस्तरमा जनगुनासो समेत बढ्दो छ । हाल यो सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको कार्य भइरहेको छ ।

Leave a Reply

ताजा समाचार