ग्यास वितरणलाई व्यवस्थित बनाउन एकीकृत प्रणाली र समयसीमासहितको कार्ययोजना आवश्यकः सभापति अन्सारी | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

ग्यास वितरणलाई व्यवस्थित बनाउन एकीकृत प्रणाली र समयसीमासहितको कार्ययोजना आवश्यकः सभापति अन्सारी

काठमाडौँ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने ग्यास (एलपी ग्यास) को वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभएको छ ।
बुधवार आयोजित समितिको बैठकमा बोल्दै सभापति अन्सारीले ग्यास आपूर्ति श्रृङ्खलामा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएको हो । सभापति अन्सारीले प्रत्येक घरधुरीमा कुन कम्पनीका कतिवटा सिलिण्डर छन् भन्ने यकिन तथ्याङ्क राख्न ‘हाउसहोल्ड म्यापिङ्ग’ र एकीकृत सूचना प्रणाली (इन्टिग्रेटेड सिस्टम) को आवश्यकता रहेको बताउनु भयो । वडा तहबाटै उपभोक्ताको विवरण सङ्कलन गरी नेपाल आयल निगम, ग्यास उत्पादक र वितरकले हेर्न मिल्ने गरी प्रणाली विकास गरेमा अनुगमन प्रभावकारी हुने र दुरुपयोग रोकिने उहाँको भनाइ छ ।

उहाँले आधा सिलिण्डरको प्रयोगबाट प्राप्त भएका उपलब्धि र समस्याहरूको समीक्षा गर्दै आगामी दिनमा परिमार्जित नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । साथै, ढुवानीमा सहज हुने र सुरक्षित मानिने ‘लाइट वेट’ (कार्बन फाइबर) सिलिन्डरको प्रयोग व्यापक हुन नसकेकोमा चासो व्यक्त गर्दै त्यसको गुणस्तर र सुरक्षाबारे स्पष्ट पार्न आग्रह गर्नुभयो । पाइपलाइन विस्तार र भण्डारण क्षमता वृद्धिका सम्बन्धमा सभापति अन्सारीले सम्बन्धित मन्त्रीसँग स्पष्ट कार्ययोजना र समयसीमा सहितको प्रतिवद्धता माग गर्नुभयो ।सभापति अन्सारीले सहरी क्षेत्रका हाउजिङ कोलोनी र अपार्टमेन्टहरूमा ग्यास आपूर्तिलाई व्यवस्थित गर्न सामूहिक वितरण प्रणालीको अवधारणा अघि सार्नुभयो। अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै ठूला हाउजिङमा आफ्नै भण्डारण र पाइपलाइन प्रणाली जडान गर्न ग्यास उद्योगीहरूलाई पहल गर्न उहाँले आग्रह गर्नुभयो । यस्तो प्रणालीले वितरणलाई थप व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने उहाँको विश्वास छ ।

Leave a Reply

ताजा समाचार