काठमाडौँ ।
नेपाली काँग्रेसकी सांसद सीता थपलियाले प्रधानमन्त्री बालेन्द्र साहलाई देश बिर्सिएर कसको शासन बन्न लागेको भन्दै प्रश्न गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा उहाँले ‘देश बिर्सिएको दिन’ शिर्षकको कविता सुनाउँदै उक्त प्रश्न उठाउनुभएको हो । प्रधानमन्त्रीले देश, माटो र जनताप्रतिको जिम्मेवारी बिर्सिएको उहाँको भनाई छ । राष्ट्रियता, जनताको विश्वास र आफ्नो जिम्मेवारीबाट विमुख नहुन उहाँले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले माटो छोएर कसम खानेहरू नै पछि त्यही माटोमाथि प्रश्न गर्न थालेको बताउनु भयो ।
सांसद थपलियाले स्वार्थले प्रेरित भएपछि मानिसले धेरै कुरा बिर्सन सक्ने भएपनि आफूलाई विश्वास गरेर मत दिने जनता, जनताको आधार बनेको माटो तथा आशिष दिने बाबुआमालाई कहिल्यै नबिर्सन आग्रह गर्नुभएको छ । बिर्सने प्रवृत्ति निरन्तर बढ्दै गएमा देश नै बिर्सिने अवस्था आउन सक्ने चेतावनी दिँदै उहाँले जुन दिन देश बिर्सन्छौ, त्यो दिन तिमी कसको शासक बन्ने छौँ ? भन्ने प्रश्न गर्नुभयो । प्रधानमन्त्री साहले नेपालले भारतको भूमी मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले त्यसको विरोध गर्दै आएका छन् । सोही विरोधको स्वरुपमा सांसद थपलियाले संसदमा कविता सुनाउनुभएको हो ।–





