करिब पाँच महिनाअघि असोज १७ गते सबैलाई चकित पार्दै औपचारिक रूपमा सुरू गरिएको एमाले–माओवादीले अन्ततः पार्टी एकता गर्ने आधार तय गरेका छन् । दुई ठूला ’कम्युनिस्ट’ पार्टीबीचको एकता हुने निश्चित भएसँगै जनतालाई बाँडेका आश्वासन पूरा गर्नुपर्ने पाँचवर्षे अग्निपरीक्षा पनि सुरु भएको छ ।
सरसर्ती हेर्दा, एमाले–माओवादी एकता अवधि निकै लामो देखियो । यो अवधिमा दोस्रो र तेस्रो तहका नेता अनि कार्यकर्ता मुख्यतः बढी अन्योलमा परे । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयमता र भू–धरातीय यथार्थको अध्ययन पार्टी एकताका लागि उर्वर बन्यो । अनेकन् हल्लाका कारण जब परिस्थिति असहज बन्दै जान्थ्यो, दुवै नेताहरू गोप्य वार्तामा जुटिहाल्थे । यसले एकातिर दुवै नेतामा आत्मविश्वास बढाउने काम गर्यो भने अर्कातिर अविश्वास हटायो ।
यद्यपि, एमाले–माओवादी एकताका केही पक्ष दम्भपूर्ण छन् । एमालेकै कतिपय नेता र केही विश्लेषकहरूले समेत माओवादीलाई राप्रपासँग तुलना गर्दै दाहाललाई अध्यक्ष दिन नहुने ’तर्क’ गर्न थालेसँगै खासगरी चुनावको नतिजापछि एमालेमा दम्भ देखियो । एमालेलाई ठूलो दल बनाउन माओवादीका ’केही भोट’ले खेलेको भूमिका बिर्सन चाहनेहरूले नै दाहालको विरोध गरे । तर, दाहाललाई व्यक्ति नभएर अभियानका रुपमा स्वीकार्न केपी ओली सहमत भएसँगै एकता प्रक्रियाले गति लियो ।
अबको मुख्य समस्या भनेकै एमालेका दुई सय र माओवादीका चार हजारभन्दा बढी नेता व्यवस्थापन गर्नु हो । अब एकतासँगै कसलाई के पद ? यो जनताको सवाल होइन । ’प्रधानमन्त्री आलोपालो वा पार्टी पालैपालो चलाउनुले जनतासँग उत्ति सरोकार राख्दैन, सरोकार त ’चुनावताका जनतालाई बाँडेका आश्वासनका पोका कहाँ र कसरी खोल्ने ?’ भन्नेले राख्ने विश्लेषकहरु बताउँछन् ।
जनता विकासवादी हुन, उनीहरू विकास चाहन्छन् । त्यसैको परिणामस्वरूप स्थायी सरकार र विकासका एजेन्डाले भोट पाएको हो । जनताले कसैलाई प्रधानमन्त्री बनाउन भोट दिन्थे भने प्रधानमन्त्रीका लागि ’आफैंलाई किटानी’ गर्दै हिँडेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिन्थे । र, निश्चित छ, अबका पाँच वर्षसम्म पनि वाम सरकारले जनतालाई विकासको छनक नदिने हो भने अर्को पटकको चुनावमा नेपाल कम्युनिस्ट पार्टीको हविगत यसपटकको नेपाली कांग्रेसको भन्दा लाजमर्दो हुनेछ । त्यसैले कम्युनिष्टहरुका लागि पाँच वर्षे अग्नीपरीक्षा सुरु भएको वाम गठबन्धनकै नेताहरु बताउँछन् ।
जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई जोड्न कठिन नहोला तर एक ठाउँ उभिसकेका र एउटै लक्ष्य तय गरिसकेका नेताहरूले एक–अर्काको सम्मानमा आँच आउने काम गर्ने हो एकता टिक्नेमा शंका कायमै रहने छ । फुर्सदको समय अर्कोलाई गाली गर्न खर्चने हो भने एकता जीवन्त बन्न सक्दैन । त्यसका लागि केपी ओलीका ’फन्टुस गफ’ र दाहालका ’अस्थिरता’ दुवै ’साइज’मा आउन जरूरी छ ।