विदेशमा रहेका नेपालीलाई मताधिकार र सुशासन सरकारको प्राथमिकताः प्रधानमन्त्री साह | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

विदेशमा रहेका नेपालीलाई मताधिकार र सुशासन सरकारको प्राथमिकताः प्रधानमन्त्री साह

प्रधानमन्त्री बालेन्द्र साहले विदेशमा रहेका नेपाली नागरिकहरूलाई आगामी निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्न सरकारले आवश्यक अध्ययन र तयारी थाल्ने बताउनुभएको छ ।
प्रतिनिधि सभामा आईतवार सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सांसद महावीर पुनले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री साहले विदेशमा रहेका नेपालीहरूका लागि मतदानको दुईवटा विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो । यस विषयलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन प्रधानमन्त्रीले विज्ञान तथा सूचना प्रविधि मन्त्रीलाई आवश्यक व्यवस्थापन र अध्ययनका लागि निर्देशनसमेत दिनुभएको छ । सोही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुशासन र सार्वजनिक सेवा प्रवाहमा देखिएका सुधारबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सरकारले वर्तमान वर्षलाई सुशासनको वर्षका रूपमा अगाडि बढाएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले मतदान गर्ने सन्दर्भमा दूतावासमै पुगेर वा मोबाइल एपमार्फत मतदान गर्ने दुई उपाय रहेका छन्। मोबाइलबाट मतदान गर्दा हुन सक्ने सम्भावित प्रभाव र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्वतन्त्र र निष्पक्ष मतदानको सुनिश्चितता कसरी गर्ने भन्ने विषयमा सरकार गम्भीर छ ।’
प्रधानमन्त्री साहले मालपोत, कम्पनी रजिस्ट्रार, र यातायात (ब्लुबुक नवीकरण) जस्ता सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरूमा विगतमा कायम बेथितिहरू क्रमशः हट्दै गएको दाबी गर्नुभयो। सुशासनको अर्थ विकास र पूर्वाधार निर्माणलाई रोक्नु नभएको स्पष्ट पार्दै उहाँले शासकीय सुधार र भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको बताउनु भयो । जनताले सुशासन र समृद्धिका लागि दिएको अभूतपूर्व जनमतको कदर गर्दै सरकारले आगामी दिनमा पनि पारदर्शी र जनउत्तरदायी ढंगले काम गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले सदनमा व्यक्त गर्नुभयो ।

Leave a Reply