काठमाडौँ ।
सरकारले भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने र त्यहाँ पुगेर समस्यामा पर्ने अवस्थालाई व्यवस्थित गर्न नयाँ प्रक्रिया अगाडि बढाएको छ । आईतवार आयोजित बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र साहले भिजिट भिसाको दुरुपयोग रोक्न र विद्युतीय पूर्वाधारको सुदृढीकरणका लागि सरकारले चालेका कदमबारे स्पष्ट पार्नुभएको हो । भिजिट भिसाको सन्दर्भमा प्रधानमन्त्रीले पछिल्लो समय यसको दुरुपयोग बढेको भन्दै गृह मन्त्रालय, अध्यागमन विभाग र विमानस्थलस्थित सम्बन्धित निकायहरूलाई कडा निर्देशन दिइएको जानकारी दिनुभयो ।
हाल भिजिट भिसामा विदेश गएर रोजगारी प्राप्त गर्दा पुनः नेपाल फर्केर श्रम स्वीकृति लिनुपर्ने झन्झटिलो कानूनी व्यवस्था रहेकोमा त्यसलाई सुधार गर्न लागिएको उहाँले बताउनु भयो । अब भिजिट भिसामा गएका नेपालीहरूले त्यहाँ रोजगारी पाएमा विदेशमै बसेर उक्त भिसालाई कार्य अनुमति (वर्किङ भिसा) मा रूपान्तरण गर्नसक्ने वैकल्पिक व्यवस्थाका लागि श्रम मन्त्रालयले आवश्यक कार्य गरिरहेको उहाँको भनाइ छ । यसैगरी, देशको विद्युत् खपत र पूर्वाधारका विषयमा बोल्दै प्रधानमन्त्रीले तत्कालै सबै नागरिक विद्युतीय भान्छामा जान सक्ने प्राविधिक अवस्था नरहेको उल्लेख गर्नुभयो ।
विद्युतीय पूर्वाधारको क्षमता विकासका लागि ठूलो लगानी आवश्यक पर्ने भन्दै प्रधानमन्त्रीले ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताका हकमा लगाइएको सामान्य अतिरिक्त शुल्कको बचाउ गर्नुभयो । उहाँकाअनुसार सो रकम देशैभरका ट्रान्सफर्मर अपग्रेड गर्न, प्रशारण लाइनको क्षमता बढाउन र सब–स्टेसनहरूको स्तरोन्नतिका लागि खर्च गरिनेछ । यी पूर्वाधारहरूको विकास भएपछि मात्र नेपाल पूर्ण रूपमा विद्युतीय युगमा प्रवेश गर्न सक्ने र त्यसका लागि सरकार दृढताका साथ अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।





