हिमालको संरक्षण विश्वकै साझा दायित्व होः पूर्वराष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८३, शनिबार

हिमालको संरक्षण विश्वकै साझा दायित्व होः पूर्वराष्ट्रपति यादव

काठमाडौँ ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताउनुभएको छ । ‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको हो । पूर्वराष्ट्रपति यादवले नेपालको भौगोलिक विविधता र सामाजिक एकताको चर्चा गर्दै तराई, पहाड र हिमालको विशिष्ट योगदानले नै राष्ट्रिय पहिचान मजबुत बनेको उल्लेख गर्नुभयो । तराईलाई कृषि र अध्यात्मको केन्द्र, पहाडलाई दृढता र संस्कृतिको धरोहर तथा हिमाली क्षेत्रलाई नेपालको गौरवका रूपमा चित्रण गर्दै उहाँले विविधता नै नेपालको शक्ति भएको बताउनु भयो । सगरमाथालाई मानवीय साहस, दृढ संकल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीक मान्दै डा. यादवले पर्यटन क्षेत्रले विभिन्न संस्कृति र राष्ट्रहरूबीच आपसी समझदारी अभिवृद्धि गर्ने धारणा राख्नुभयो । पर्यटन नेपालको समृद्धिको मुख्य आधार भएको उहाँको भनाइ छ ।

उक्त अवसरमा उहाँले पर्वतारोही, पथप्रदर्शक, उद्धारकर्मी, पर्यटन व्यवसायी र संरक्षणकर्मीहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मानित गर्नुभएको थियो । विभिन्न देशका कुटनीतिक प्रतिनिधि, पर्यटन क्षेत्रका अगुवा तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको उक्त कार्यक्रममा डा. यादवले विदेशी पाहुनाहरूलाई बुद्ध र सगरमाथाको देशमा स्वागत गर्दै नेपाललाई विश्वव्यापी संवाद र दिगो हिमाली विकासको केन्द्रका रूपमा स्थापित गर्न यस्ता मञ्चहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । यस वर्षको प्रतिष्ठित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट दिग्गज पर्वतारोही पेर्टेम्बा शेर्पालाई सम्मानित गरिएको छ । शेर्पाले सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका थिए । पर्यटन क्षेत्रमा उनले पु¥याएको अमूल्य योगदानको उच्च कदर गर्दै पूर्वराष्ट्रपति यादवले उनलाई दोसल्ला ओढाएर, प्रमाणपत्रका साथै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कारसहित सम्मानित गर्नुभयो ।

Leave a Reply