पुँजीगत बजेटको एक प्रतिशत नवप्रवर्तनमा छुट्याउन सांसद पुनको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८३, बुधवार

पुँजीगत बजेटको एक प्रतिशत नवप्रवर्तनमा छुट्याउन सांसद पुनको माग

प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग गर्नुभएको छ । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पुनले देशमा रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ गर्न अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको उल्लेख गर्नुभयो । सरकारले हालै ‘नवप्रवर्तन तथा विज्ञान प्रविधि मन्त्रालय’ स्थापना गरेको विषयलाई सकारात्मक रूपमा लिँदै उहाँले उक्त मन्त्रालयलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति र पर्याप्त बजेटको आवश्यकता रहेको औँल्याउनु भयो । सांसद पुनले वर्तमान अर्थतन्त्रको विकासका लागि नवप्रवर्तनको महत्व बुझ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले वैज्ञानिकहरूले गर्ने आविष्कारलाई व्यवसायिक रूप दिई उत्पादन बढाउनु नै नवप्रवर्तन भएको स्पष्ट पार्नुभयो । नवप्रवर्तनका माध्यमबाट स्वदेशमै वस्तुहरू उत्पादन गर्दा आयात प्रतिस्थापन हुने, रोजगारी बढ्ने र अन्ततः राज्यको कर संकलनमा वृद्धि भई विकास निर्माणका काममा बजेट जुटाउन सहज हुने उहाँको तर्क छ । उहाँले नयाँ मन्त्रालयमा मन्त्रीदेखि सचिवसम्म सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र यसको नेतृत्व प्रधानमन्त्री स्वयंले चासोका साथ लिनुपर्ने सुझाव समेत दिनुभयो । संसद्मा चलचित्र सम्बन्धी नयाँ विधेयकमाथि भइरहेको छलफलका सन्दर्भमा बोल्दै पुनले आफूले विगत २६ वर्षदेखि चलचित्र नहेरेको बताउनु भयो ।

Leave a Reply