इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मारिएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मारिएको पुष्टि

प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्ना सैन्य दस्ता ‘अल–कसम ब्रिगेड’का कमान्डर–इन–चिफ इज–अल–दिन अल–हद्दाद इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ । हमासका प्रवक्ता हाजेम कासिमले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै शुक्रवार गाजा शहरमा भएको इजरायली आक्रमणमा हद्दाद मारिएको जानकारी दिनुभएको हो । प्यालेस्टिनी स्रोतकाअनुसार शनिबार गाजा सिटीमा अल–हद्दादको अन्त्येष्टि सम्पन्न भएको छ । मध्य गाजाको अल–अक्सा शहीद मस्जिदबाट शुरु भएको शवयात्रामा सयौँ प्यालेस्टिनीहरूको सहभागिता रहेको थियो । उक्त आक्रमणमा हद्दादका साथै उनकी पत्नी र छोरीको पनि मृत्यु भएको छ । शवयात्रामा सहभागीहरूले इजरायली सैन्य कारबाहीको निन्दा गर्दै नाराबाजी गरेका थिए । यसअघि शनिवार नै इजरायली सेना र आन्तरिक सुरक्षा निकाय ‘सिन बेट’ले एक संयुक्त विज्ञप्ति जारी गर्दै शुक्रवारको हवाई आक्रमणमा हद्दाद मारिएको दाबी गरेका थिए । इजरायलका अनुसार हद्दाद ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा भएको घातक आक्रमणका मुख्य योजनाकारमध्ये एक थिए । इजरायली सैन्य प्रमुख इयाल जामिरले एक छुट्टै विज्ञप्ति जारी गर्दै अक्टोबर ७ को घटनामा संलग्न जोकोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार शुक्रवार गाजा शहरको एउटा आवासीय भवन र सवारी साधनमा भएको इजरायली आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । ‘घोस्ट अफ अल–कसम’ (अल–कसमको भूत) उपनामले चिनिने अल–हद्दाद इजरायलको ‘मस्ट वान्टेड’ सूचीमा रहेका शिर्ष व्यक्ति थिए । इजरायली सञ्चारमाध्यमका अनुसार उनी यसअघि भएका कयौँ हत्या प्रयासहरूबाट बच्न सफल भएका थिए । गाजास्थित राजनीतिक विश्लेषक आहेद फेरवानाकाअनुसार अल–हद्दादको मृत्युले हमासको स्थलगत कमान्ड सञ्चालनमा प्रभाव पार्न सक्छ । विश्लेषक फेरवानाले यस आक्रमणको समयलाई इजरायलको आन्तरिक राजनीतिसँग पनि जोडेर हेरेका छन् । उनकाअनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सम्भावित निर्वाचनअघि आफ्नो राजनीतिक साख बलियो बनाउन यस्ता सैन्य सफलतालाई प्रयोग गर्न खोजेका हुन सक्छन् ।

Leave a Reply

ताजा समाचार