काठमाडौँ ।
आइसिसी विश्वकप लिग–२ को शश्रंखलामा अमेरिकामाथि फराकिलो जितपछि नेपालका शतकधारी कुशल भुर्तेलले आफ्नो शतकभन्दा पनि शिर्ष ब्याटरले रन बनाउन सक्दा खुशी भएको बताएका छन् । ओपनर कुशलले शतक पूरा हुँदा त्यसबारे व्यक्त गर्ने आफूसँग शब्द नभएको र शिर्ष ब्याटरले रन बटुल्दा भने धेरै खुशी रहेको प्रतिक्रिया दिए । जितपछि पत्रकार सम्मेलनमा कुशलले शिर्ष ब्याटरबाट राम्रो शुरुवात नभएको लामो समय भएकाले आज राम्रो हुँदा खुशी रहेको बताएका हुन् । आफ्नो शतकभन्दा पनि टोलीको जित महत्वपूर्ण रहेको उनको भनाइ छ । ओमानसँग आफूले खराब सट खेले पनि टी ट्वान्टीमा आफूले राम्रो ब्याटिङ गरेको बताउँछन् । ओमानसँग राम्रो सुरुआत पाएर पनि खराब सट खेल्दा तीन म्याच बाहिर बस्नु परेको उनको भनाइ छ । समग्रमा नेटमा आफूले राम्रो ब्याटिङ गरे पनि खेलमा त्यसलाई लागू गर्न नसकेको उल्लेख गरे ।
उनले शीर्ष ब्याटरका रूपमा आफू र आशिफ शेखले राम्रो गर्न सक्यो भन्ने जित निकाल्न सक्छौं भन्ने विश्वास रहेको बताए । त्यसैले पनि खेलका क्रममा यसबारे आसिफसँग कुराकानी भएको उनी बताउँछन् । त्यसमा सफल पनि हुँदा आफू खुशी रहेको उनले उल्लेख गरे । विकेट हेर्दा सहज भए पनि अमेरिकाले कम योगफल बनाएको उनको बुझाइ छ । आफू आक्रामक र आसिफ अली स्लो खेल्ने नेचरको रहेको उनले उल्लेख गरे । जिम्बाब्बेसँग शतकनजिक पुगेर चुक्दा दुःख लागेको उनले उल्लेख गरे । आगामी खेलमा पनि राम्रो दर्शक आउने उनको आशा छ । अहिले टोलीभित्र पर्न धेरै प्रतिस्पर्धा रहेको उनी बताउँछन् ।





