काठमाडौं ।
मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावका कारण भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने १९ किलोग्रामको तरल पेट्रोलियम ग्यास (एलपी ग्यास) को मूल्यमा उल्लेख्य वृद्धि गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रवारदेखि लागू हुनेगरी प्रतिसिलिण्डर ९९३ भारतीय रुपैयाँले मूल्य बढाइएको हो । पछिल्लो मूल्य वृद्धिसँगै अब व्यावसायिक सिलिण्डरको मूल्य ३,०७१.५० भारतीय रुपैयाँ पुगेको छ । ग्यासको मूल्य बढेसँगै होटल, रेस्टुरेण्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा खाद्य सामग्रीको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । मध्यपूर्वमा तनाव शुरु भएयता व्यावसायिक ग्यासको मूल्य वृद्धि भएको यो तेस्रो पटक हो ।
यसअघि मार्च महिनामा प्रति सिलिण्डर १४४ भारतीय रुपैयाँ र अप्रिल १ मा २०० भारतीय रुपैयाँले मूल्य वृद्धि गरिएको थियो ।भारत सरकारले व्यावसायिक तथा घरायसी दुवै प्रयोजनका लागि ग्यासको आपूर्ति सहज रहेको दाबी गर्दै आएको छ । यद्यपि सरकारी तथ्याङ्कअनुसार भारतले आफ्नो कुल मागको ६० प्रतिशतभन्दा बढी एलपी ग्यास आयात गर्ने गर्दछ । भारतले मुख्यतया संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र कुवेतजस्ता देशहरूबाट ग्यास आयात गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण ग्यासको मूल्यमा पटक–पटक समायोजन गर्नुपरेको बताइएको छ ।





